महाप्रबन्धकले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै घुस मागेपछि कारबाही गरियो : पर्यटन मन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महाप्रबन्धकले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै घुस मागेपछि कारबाही गरियो : पर्यटन मन्त्री


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरेको बताएका छन् । 

शुक्रबार काठमाडौँमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ घुस मागेपछि ठाकुरलाई कारबाही गरेको बताए । 

उनले आफूले कसैको पनि एकपैसा नखाने र अब यस्ता अन्य घुस प्रकरणहरू खुल्दै जाने र कारबाही गर्ने चेतावनी दिए । घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको हो । 

सम्बन्धित समाचार : त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बन

मन्त्री किरातीले मन्त्रीले कहिले पैसा माग्यो भन्ने खुल्न पर्ने र पैसा मागेको पाइए मन्त्रीलाई पनि कारबाही हुनुपर्ने बताए । उनले २० लाख पर्यटक ल्याउने कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशनसमेत दिए । 

पर्यटन प्रवर्द्धनका लागि चलाइएको अभियानअन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्याङ्क बोर्डले दिनुपर्ने उनको भनाइ छ । उनले कर्मचारीलाई हेरफेर गरेर आतङ्क नमच्चाउने तर कर्मचारीको साथ र काम चाहिने स्पष्ट पारे ।

मन्त्री किरातीले पर्यटन क्षेत्रको समस्यालाई सम्बोधन गर्नका लागि मन्त्रालयले एकीकृत कार्ययोजना बनाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस