हिउँदे वर्षा नभएपछि नेपालमा खाद्यान्न सङ्कट निम्तने चिन्ता « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

हिउँदे वर्षा नभएपछि नेपालमा खाद्यान्न सङ्कट निम्तने चिन्ता


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्न सक्ने भन्दै विज्ञहरूले सरकारले खाद्य सुरक्षामा सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् । जलवायु परिवर्तनका कारण विगतको तुलनामा यस पटक हिउँदमा हुने वर्षामा कमी आएको विज्ञहरूको भनाइ छ । 

देशका अधिकांश स्थानमा वर्षा हुन नसकेकाले हिउँदमा हुने खाद्यान्न उत्पादनमा कमी हुनुका साथै अन्य वातावरणीय समस्याहरू उत्पन्न हुनसक्ने प्रति सरकारलाई सचेत गराएका हुन् । विज्ञहरूले सरकारले हिउँद याममा हुने खाद्यान्नहरूको समयमा नै जोहो गर्न पनि आग्रह गरेका छन् । 

हिउँदे अवधिमा औसत वर्षा ६०.१ मिलिमिटर हुनुपर्नेमा अहिलेसम्म ७.९ मिलिमिटर मात्रै वर्षा भएको विज्ञहरूले बताए । जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको हिउँदमा खडेरी परेकाले हिउँदको अवधिमा हुने खाद्यान्न उत्पादनमा कमी हुने भन्दै सरकारले समयमै खाद्यान्नहरूको सुरक्षामा जोड दिनुपर्ने बताए । 

उनले फागुन १६ सम्म पनि कडा खालको वर्षा हुने सम्भावना नरहेको बताए । त्यो नदेखिनुको कारण समुन्द्र सतहको तापक्रम अहिले औसतभन्दा कम रहेको उनको जिकिर छ । 

हिमाली, उच्च पर्वतीय क्षेत्रमा कर्णाली, मुगु, डोल्पा जस्तो सुदूरपश्चिमको पहाडी क्षेत्रमा त्यता अलि पानी परेको तर काठमाडौँतिर पानी नपरेका जुन क्षेत्र छन्, त्यो क्षेत्रमा खडेरी भएको उनले जानकारी दिए । त्यसैले नेपालमा अब उत्पादन कम हुन्छ भनेर हिउँदे अवधिमा हुने उत्पादनको सुरक्षामा सतर्कता अपनाउन आवश्यक रहेको उनको सुझाव छ । 

Tags :
प्रतिक्रिया दिनुहोस