स्वास्थ्य चौकीले तलब दिन नसकेपछि नि:शुल्क एम्बुलेन्स चलाउँदै थापा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

स्वास्थ्य चौकीले तलब दिन नसकेपछि नि:शुल्क एम्बुलेन्स चलाउँदै थापा


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । गुल्मीको मालिका गाउँपालिका-३ का वडा सदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आएका छन् । उनले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आएका हुन् ।

गत वैशाखमा वडा सदस्यमा निर्वाचित भएपछि पनि थापाले एम्बुलेन्स चलाउँदै आएका छन् । स्वास्थ्य चौकीले मासिक तलब दिएर चालक राख्न नसकेपछि उनले समाजसेवीको रूपमा बिना तलब एम्बुलेन्स चलाउन थालेका हुन् । लामो समयसम्म वैदेशिक रोजगारीमा रहेका वडासदस्य थापा विदेशबाट फर्केपछि पनि आफ्नो सीपअनुसार वडामा सेवा गरिरहेका हुन् ।

चालक राख्न नसकेपछि एम्बुलेन्स बेकामे भएर थन्किएकाले आफूमा सेवाको भावना जागेको उनले बताए । सोही सेवा भावका कारण गत स्थानीय तहको निर्वाचनमा उनले नेपाली काँग्रेसबाट वडा सदस्यको टिकट पाए । निर्वाचित भएपछि पनि थापाले थप जिम्मेवारी महसुस गरी एम्बुलेन्स चालकको कामलाई निरन्तरता दिए । पछिल्लो समय ग्रामीण भेगका स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्था भए पनि चालक राख्नसमेत कठिनाइ भइरहेको छ । त्यही समस्याबाट ग्रसित मालिकाको विकट मानिने ह्वाङदी स्वास्थ्य चौकीलाई वडासदस्य थापाले राहत दिलाएका छन् ।

वडा सदस्यको कार्यकाल रहुन्जेल पाँच वर्षसम्म निःशुल्क एम्बुलेन्स चलाएर सहयोग गर्ने उनले बताए । उनले वडा सदस्यको हैसियतमा वडाबाट पाउने सेवा सुविधा लिएर काम गरिरहेका छन् । आफूले पाँच वर्षसम्म वडा सदस्यको भूमिकासँगै नि:शुल्क एम्बुलेन्स चलाएर सहयोग गर्ने थापाले बताए । उनको कामलाई वडावासी सबैले प्रशंसा गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस