चोभार सुख्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चोभार सुख्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । चोभार सुख्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा आएको छ । सुख्खा बन्दरगाहको आयात/निर्यात क्षेत्र गत वर्षको चैतदेखि नै सञ्चालनमा आएको भएतापनि आन्तरिक टर्मिनल सञ्चालनमा आएको थिएन । जुन, यही सातादेखि सञ्चालनमा आउने भएको हो ।

बन्दरगाह २०७८ साल चैत २२ गतेदेखि सञ्चालनमा आएको थियो । माघ २५ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बसेको बैठकले आन्तरिक टर्मिनल सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

बैठकलगत्तै नेपाल इन्टरमोडल यातायात विकास समितिको सञ्चालक समितिको बैठकबाट आन्तरिक टर्मिनल सञ्चालनको लागि दररेट स्वीकृत गरेको कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । टर्मिनल सञ्चालनको लागि तयारी अवस्थामा रहेकोले सम्बन्धित सरोकारवाला निकायहरूमा पत्राचार गरी १/२ दिन भित्रै समितिबाट उक्त टर्मिनल सञ्चालन सुरु हुने गजुरेलले बताए । व्यापार सहजीकरणको लागि नेपाल सरकारद्वारा निर्माण गरिएको सुख्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा १५० वटा पर्किङ्ग क्षमता, ५४/२४ वर्ग मिटर क्षमताको गोदामघर १ वटा, ८० मेट्रिक टन क्षमताको सवारी नापतौल, लोड/अनलोड सेड, चालक तथा कामदारहरूको लागि शौचालय आदिको व्यवस्था छ ।

२०७५ साल माघ ३ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीज्यूबाट शिलान्यास भई बन्दरगाहको निर्माण सुरु भएको थियो । उक्त टर्मिनल प्रयोगको लागि प्रवेश शुल्क निःशुल्क गर्ने योजना इन्टरमोडलको छ । यस्तै, न्यूनतम शुल्कमा सवारी साधनहरूको पार्किङ, माल सामानको लोडिङ्ग/अनलोडिङ्ग, सामान राख्ने गोदामघर, लगायतका सुविधाहरू उपलब्ध हुने समेत बताइएको छ ।

सोही कारण, टर्मिनल सञ्चालनमा आएपछि हाल उपत्यकामा भइरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङबाट हुने दुर्घटना लगायतको जोखिम न्यूनीकरण हुने गजुरेलले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस