भारतबाट उद्धार गरिएका दुई बालबालिकालाई लगाइयो अभिभावकको जिम्मा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतबाट उद्धार गरिएका दुई बालबालिकालाई लगाइयो अभिभावकको जिम्मा


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । तीन दिनअघि हराएका सिराहा नगरपालिका-६ का दुई बालबालिकालाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार २२ माघमा स्थानीय लिटिलस्टार विद्यालयमा छुट्टी भएपछि घर फर्किनुपर्ने एक बालक र एक बालिका हराएपछि प्रहरीले तत्काल भारतीय प्रहरीसँग समन्वयपछि उद्धार गरी बुधबार अभिभावकको जिम्मा लगाएको हो।

उक्त विद्यालयमा कक्षा ८ मा पढिरहेकी सिराहा नगरपालिका-६ बसबिट्टाकी १४ वर्षीया नुडी खातुन र कक्षा ४ मा अध्ययनरत छोरा १२ वर्षीय अरमान मन्सुरलाई भारतको समस्तीपुरबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको सिराहा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।

विद्यालय छुट्टी भएपछि घर फर्किनुपर्ने बालबालिका हराएपछि तत्काल प्रहरीलाई मौखिक सूचना दिएलगत्तै खोजतलास र अनुसन्धान गर्ने क्रममा भारतको समस्तीपुरमा रहेको यकिन भएपछि तत्काल वडा प्रहरी कार्यालय सिराहाबाट प्रहरी नायब निरीक्षक राजेश यादवको कमान्डमा टोली खटिएको प्रहरी निरीक्षक साहले बताए ।

टोलीले स्थानीयस्तरमा खोजतलाससँगै भारतीय प्रहरीसँग समन्वय गर्दा समस्तीपुरमा रहेको यकिन भएपछि उद्धार गरी सिराहा ल्याएर अभिभावकको जिम्मा लगाइएको प्रहरी निरीक्षक साहले बताए । हराएका दुई बालबालिकालाई कसले र कसरी भारत पुर्‍याए भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस