युएसएआइडी प्रमुख पावर नेपालमा, यस्तो छ भ्रमण तालिका  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

युएसएआइडी प्रमुख पावर नेपालमा, यस्तो छ भ्रमण तालिका 


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) प्रमुख सामन्था पावर दुईदिने नेपाल भ्रमणमा आएकी छन्। 

आफ्नो भ्रमणका क्रममा उनले नागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्ने अमेरिकी राजदूतावासले जनाएको छ।

प्रशासक पावरले युएसएआइडीले लोकतान्त्रिक र समृद्ध नेपाललाई सहयोग गर्न स्थानीय समुदायहरूसँग साझेदारी गरिएका सम्बन्धमा नजिकबाट नियाल्ने बताइएको छ।

प्रशासक पावरले नेपाल सरकार र जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिँदै नेपालसँगको संलग्नता थप बढाउने युएसएआइडीको प्रतिबद्धतालाई उजागर गर्ने कार्यक्रम छ। 

उनले भ्रमणका क्रममा युएसएआइडीको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता जाहेर गर्ने राजदूतावासले जनाएको छ। 

साथै नेपालको प्रजातान्त्रिक अभ्यास, सङ्घीयता, सामाजिक समावेशिता, नागरिक समाज र प्रेस स्वतन्त्रतालगायत विषयमा नयाँ कार्यक्रम घोषणा गरिने युएसएआइडीको विज्ञप्तिमा उल्लेख छ।

नेपालको विकासमा युएसएआइडीले निर्वाह गरेको भूमिका र उच्चस्तरीय भ्रमणले नेपाल अमेरिका सम्बन्धमा थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।

नेपालको आर्थिक, सामाजिक, शैक्षिक विकासमा विगत ६ दशकभन्दा बढी समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको युएसएआइडीको मुख्य अधिकारीको नेपाल भ्रमण विशेष महत्त्व हुने अपेक्षा गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस