१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको धिमे गतिको विकास र समृद्धिको यात्राका रोचक तथ्य

अ+ अ-

हामी नेपाली, हट्ने होइन डटी लड्ने वीरका सन्तान, क्रान्तिका गाथा रच्न सक्ने पुर्खाका सन्तान । हुन त हामीलाई एक्काइसौँ शताब्दीका विकासका बृहंगम ज्ञान सिक्न र विकसित देशले गरेका सिकेका उपलब्धिमा बहस छलफल गर्ने समय र फुर्सद पनि छैन । हामीलाई अध्ययन, अनुसन्धान र विकासका फोरम बनाउनु पनि छैन अझ भन्नुपर्दा यसबाट हामीलाई कुनै फाईदा पनि त छैन। समाज परिवर्तनका नारा बोकेका हामी अथक योद्वालाई दैनिक उपभोगवादका स-साना खुसीमा रमाउनु छ, सुविधालाई नजिकबाट नियाल्ने विलासयुक्त जीवनशैली बनाउनु छ, एक्काइसौँ शताब्दी सुहाउने उन्माद सम्पन्नता र व्यक्तिमुखी उपभोगवादलाई पछ्याउनु छ ।

राष्ट्र विकास निर्माणका कुरा गर्दै गर्दा नेपाली समाजका चरित्रका रूपमा रहेको बाद र चरित्र बुझ्न जरुरी छ। सामान्य गरिखाने वर्ग अर्थात् निम्न बर्गका लागि दिनहुँ गाँस, बाँस र कपासको सम्पन्नता खोज्दै गर्दैमा जीवित शरीरले प्राण छोड्ने गरेको छ।निम्न वर्ग यति सोझो छ की उसको सोझो सम्पर्क न त प्रविधिसँग छ न त आफू परिवर्तन नै हुन्छ। अर्को मध्ययम वर्ग अलि चलाख छ दिनहुँ अवसरका पोकाहरू खोज्दै गर्दा वर्गीय उपभोगवादको चरम चङ्गुलको भासमा छिरिसकेको पत्तै छैन र वर्गीय विवेकशीलता देखाउन अनेकन हतकन्डी गर्दै जीवनयापन गरिरहेको छ। यो बर्गले उपल्लो वर्गसँग टाँसिएर विपन्न बर्गलाई पारम्परिक एवं दरिद्र जीवनलाई क्रूर तथा भद्दा देख्छ । मध्ययम बर्गले सदैव आफूलाई मूल्य मान्यताको संरक्षक सम्झन्छ र पश्चिमा आधुनिक उपभोक्तावादका विधि एवं शैली पछ्याउँदै र माटो सुहाउँदो फेशन अङ्गीकार गर्दैमा समय व्यथित गरिरहेको छ । उपल्लो तथा कुलिन वर्ग विदेशी आधुनिकतावादमा रमाउँदै जाँदै गर्दा गतिछाडा जीवनशैलीलाई पछ्याईरहेको छ ।

यसले राज्यका क्रियाशील शक्तिपिठ चङ्गुलमा लिई मैमत्त शासन निर्माणमा सहयोग गरिरहेको छ । मध्ययम र कुलिन बर्गका लागि नेपाल स्वर्गै छ । यी दुवै वर्ग व्यक्तिमुखी उपभोगवादमा रमाउने हुँदा तल्लो वर्ग छायाँमा परिरहेको छ । यी दुवै वर्गको वास्तविकता र यथार्थवादको फ्युजनबाट नेपालमा पछिल्लो समयमा अर्को एउटा पृथक् वर्ग जन्मिएको देखिन्छ । पारम्परिक विगत, शून्य वर्तमान र अनिश्चित भविष्य देखिरहेको यो वर्ग निराशाको अर्थ बोक्ने नेगेटिभ कोटेसनबाट ग्रसित देखिन्छ । तर, यो वर्ग सचेत पनि छ र मुलुकभित्र भित्रै विकासका हरेक सम्भावनाहरू खोजी पनि गरिरहेको छ, तर अलि समय समयमा उग्रबादको सिकार पनि भइरहेको छ ।

यो बर्गले विदेशमा प्रविधि विकाससँगै उदाएका सडक तथा गगनचुम्बी महल देखेको छ प्रति घण्टा ३०० किमी गुड्ने बुलेट ट्रेन देखेको पनि छ र वास्तविक दुख पनि भोगेको छ यो बर्गले । तर, परम्परागत राजनीतिक बर्गले यो बर्गलाई स्वीकार गर्न सकिरहेको देखिदैन् । एकातिर यो बर्गलाइ परिवार एवं समाजको पृथक् मूल्य मान्यताको चाप बिछट्ट छ भने अर्कोतर्फ आफुलाई आधुनिकतामा अङ्गाल्ने उत्कृष्ट चाहना पनि छ । अझ भन्नुपर्दा यो नव उदीयमान वर्ग पृथक् पहिचान निर्माण गर्न चिन्तित र सक्रिय छ। मार्क लिक्टी भन्छन् -“ अविकसित देशका मध्ययम तथा उदाउँदै गरेको कुलिन बर्गलाई आफ्नो इज्जत, प्रतिष्ठा र शक्ति स्रोत कमाउने मात्र होडबाजी हुन्छ। दुवै बर्गलाई सीमित आयमा बहु आयामिक आवश्यकताको विशेष मोह र सानिधियता हुन्छ र यसलाई आफू केन्द्रित भौतिक सम्पन्नतासँग मात्र जोडेर हेर्ने गरिन्छ । यी कारणले गर्दा मुलुकको विकास धिमे गतिको हुन्छ।समाजमा विभिन्न वर्गको उदय हुन्छ ।“  

सबै वैश्विक मुलुकका विगत इतिहासहरू सहज भने पक्कै छैनन्। नवीन विकासका पानाहरू कोर्ने सपना देख्दै गर्दा हजारौँ नागरिकहरूले बलिदानी दिनुपरेका उदाहरण छन् । अधिकांश मुलुकहरू आन्तरिक या बाह्य युद्धबाट ग्रसित हुनुका साथै बलिया देशको शासनमा शासित हुनुपरेको पनि छन् । यस्तै राष्ट्र निर्माण र समाज परिवर्तनका लागि जनताहरू गोलबद्ध भई क्रान्ति सम्पन्नता गरेका इतिहास साछी छन्। विश्वमा औद्योगिक क्रान्तिसँगै हुर्केका फ्रान्सको राज्य क्रान्ति, अमेरिकाको स्वतन्त्र संग्राम, रुसको अक्टोबर क्रान्ति, बेलायतको गौरवमय क्रान्ति, जर्मनको पुँजीवादी क्रान्ति, अन्य गाउँका गरिबका अनुहारहरू पढ्ने क्रान्ति वा आन्तरिक वा बाह्य युद्ध निरन्तरताको स्वरूप अधिकांश मुलुकमा गणतन्त्र तथा प्रजातन्त्र जस्ता व्यवस्था परिवर्तन, नयाँ दुरदृष्टि बोकेका नेतृत्वहरूको जन्म तथा आधुनिक विकासको जग बसेको देखिन्छ ।

सन् १९९० सम्म पनि अदूरदर्शी नेतृत्व र प्राकृतिक स्रोतका कारण आन्तरिक युद्धमा फसेका विश्वको कुल भूभागको १५ प्रतिशत ओगटेको अफ्रिकी देशहरू अहिले विकसित हुने होडबाजीमा छन् । यहाँका अधिकांश मुलुकले विकासको उच्च गति पकडिसके । उदाहरणका रूपमा जसलाई अफ्रिकाको सिंगापुर पनि भनिन्छ, रुवान्डा, इथोपिया, केन्या, क्यामरुन दक्षिण अफ्रिका मोरक्को अल्जेरिया लगायत अन्य अफ्रिकी देशले गरेको विकास समेत लोभ लाग्दो हुँदै गइरहेको छ भने यी  मुलुकका विकास र समृद्धिका सूत्र उत्प्रेरणा र सिकाईका महत्त्वपूर्ण विषयहरू पनि हुन। यस्ता उदाहरणबाट हाम्रो नेपाल किन आजसम्म पछिका पछि पर्‍यो ? धरातल के हो भनेर हामीले पनि सिक्न, देख्न र भोग्न जरुरी पनि छ। विश्व विकासको मानचित्रमा हामी नेपाली किन सधैँ पछि पर्यौ त भन्ने विषयको चिन्तन मनन गर्दै दक्षिण कोरियाको अनुभवबाट पनि केही बुझ्न आवश्यक छ।

सन् १९५३ को कोरियन युद्धबाट धेरै ग्रसित बनेको र सन् १९६० सम्म अत्यन्त पिछडिएको देश र हैटी, ईथोपिया, भारत, येमन भन्दा प्रतिव्यक्ति आम्दानी कम (प्रतिव्यक्ति आम्दानी १५५६ अमेरिकी डलर) भएको मुलुक दक्षिण कोरियाको आजको विकासको गति हेर्दा लोभ लाग्दो छ। ३३ वर्ष पछाडि अर्थात् सन् २०२३ सम्म आउँदा १०० गुणा प्रगति गरिसकेको देखिन्छ। सन् १९९० अघि वैदेशिक सहायता हात थापेर मात्र विकासको सपना देख्ने दक्षिण कोरिया सन् २०२३ सम्म आउँदा अविकसित देशलाई वैदेशिक सहायता बढी दिने देश मध्ये अग्र पङ्क्तिमा पर्छ।

हाल दक्षिण कोरिया विश्वको ठुलो सेमिकन्डक्टर र स्मार्टफोन उत्पादन गर्ने देशको पहिलो सूचीमा पर्छ, पानीजहाज उत्पादनमा विश्वको दोस्रो ठुलो देश, कार उत्पादनमा विश्वको पाचौ ठुलो देश र स्टिल उत्पादनमा विश्वको छैटौँ ठुलो देशमा गणना हुन्छ। नवप्रवर्तन नै दक्षिण कोरियाको ठुलो सफलता हो र कोरियामा कुल ग्राहस्थ उत्पादनको ४.३% बजेट अनुसन्धान र विकासमा खर्च गरिन्छ। यो आर्थिक सहायता र विकासका लागि सङ्गठित देशले खर्च गर्ने भन्दा उच्च बजेट हो।दक्षिण कोरियाको हालको कुल ग्राहस्थ उत्पादन (पिपिपि) मा २.७३५ ट्रिलियन अमेरिकी डलर र प्रति व्यक्ति आय (पिपिपि) मा ५३,०५१ अमेरिकी डलर रहेको छ। 

दक्षिण कोरियाको विकासमा पान की मुन, प्रोफेसर जेफ्रि साच, जिम योङ किम जस्ता विद्वानहरूको महत्त्वपूर्ण योगदान देखिन्छ भने असल राजनीतिक नेतृत्वको रूपमा राष्ट्रपति पार्क चुङ हिलाई जान्छ। उनको पालामा कोरिया विकासको खाका कोरिएको थियो। सुरुवातमा पार्कले चेयबल (मनि क्लान्स) अर्थात् हुन्डाई मोटर, सामसुङ तथा एलजी इलेकट्रोनिक्स, एसके ग्रुप जस्ता कम्पनीको माध्यमबाट निर्यातयोग्य बस्तु उत्पादनमा जोड दिई राज्यको आन्तरिक अर्थतन्त्रको जग बलियो राखेका थिए भने त्यै चेयवलको माध्यमबाट सडक, पुल, अस्पताल जस्ता पूर्वाधार निर्माणमा जोड दिएका थिए। सन् १९८७ सम्म पूर्ण रूपमा फोहर, कुरूप र मृत शहर सियोलको रूपान्तरण गरेका थिए। जनरल पार्कले मुख्यतः औद्योगिक करिडोरको पूर्वाधार विकास मार्फत अर्थतन्त्रको जग बसाएका थिए।

पछि यसलाई निरन्तरता दिँदै स्याङमन रि ले मुख्यतः राष्ट्रमा २ वटा प्रमुख जग अर्थात् भूमिको वितरण, उपयोग र वर्गीकरणको वैज्ञानिक सुधार र शिक्षालाई राष्ट्रिय क्षमतावान् जनशक्ति उत्पादन गर्ने रूपमा आमूल सुधार गरी सीपयुक्त जनशक्तिको उत्पादनको जग विकास गरेका थिए भने देशको श्रम शक्तिलाई औद्योगिक शक्तिको रूपमा विकास गरेका थिए। सन् २०१४ सम्ममा समेत कोरियाका नागरिकले राष्ट्र विकासलाई मुख्य केन्द्रित गर्दै शनिवार समेत गरी हप्तामा औसत ५१ घण्टा काम गर्ने गर्थे । कोरियाको विकास पछिको एक मात्र सूत्र उच्च ईमान्दार राजनीतिक प्रणाली, असल राजनीतिक नेतृत्व, विकास रूपान्तरणको रणनीतिक दुरदृष्टि, औद्योगिक विकास मार्फत राष्ट्रको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने अभियान र अनुशासित र लगनशील कोरियन नागरिक नै हुन। यो त एक सफल देशको एउटा मात्र उदाहरण हो ।अन्य देशका राम्रा उदाहरणहरू पनि हामीलाई उत्प्रेरणा बढाउने औजार हुन सक्छन् ।अरु देशका विकासका आफ्नै अनुभवहरू छन् ।  

मलाई स्पष्ट सम्झना हालसम्म पनि छ। सन् २०२० मा रसुवाको प्रमुख जिल्ला अधिकारी हुँदा जनवादी गणतन्त्र चीनको स्वशासित र शक्तिशाली क्षेत्र तत्कालीन तिब्बतका सरकार प्रमुख चे डल्हा/क्वीजहला (२०१७-२०२१) सँग रसुवाको कुनै आवासीय विद्यालयको निरीक्षण गर्ने क्रममा भेट्ने र केही कुरा गर्ने मौका पाएको थिए। म जस्ताको लागि सायद यस्तो अवसर विरलै आउने गर्छ। ६३ वर्षीय तिब्बत जनसरकार प्रमुखको साधारण जीवनशैली, मिठास बोली, विकास प्रतिको चिन्ता लगाव, काम गर्ने लगाव देख्दा म जस्ता युवाको लागि उत्प्रेरणाको गहना बन्नु स्वभाविक थियो।

नेपालका विद्यालय, कलेजको अवस्था, जीवन बृत्तिपथको उपयोगी साधन बन्न कठिन पाठ्यक्रम, वर्षै भरी अध्ययन नगरेर विद्यार्थीले जाँच दिइ उत्तीर्ण हुने हाम्रो शैक्षिक प्रणाली र पहिले पहिले राजनीतिक सोर्सफोर्सका आधारमा शिक्षक भर्ना हुने प्रणालीसँग जमेको मेरो लागि चीनको शैक्षिक विकास अभ्यास सुन्दा अत्यास लाग्नुको विकल्प पनि थिएन। अझ गाउँमा रहेको घरबाट सदरमुकाम वा आसपास बजार वा शहरका विद्यालयमा पढ्न आउनुपर्ने, मासिक भाँडा तिरेर डेराजम गरी समूहमा बस्नुपर्ने, गाउँको घरबाट दैनिक खाद्यान्न बोकेर ल्याउनुपर्ने जस्ता विषयमा हामी त अभ्यस्त भइसकेका थियौ तर यी विषय सुन्दा विकसित देशका नागरिकले अचम्म नमान्नुपर्ने कारण पनि त छैन।

तिब्बत सरकार प्रमुखमा विकासको यतिसम्म हुटहुटी देखिन्थ्यो की त्यहाँको बसाइको क्रममा खाली विकासको चिन्तन बाहेक अन्य अनौपचारिकता केही पनि देखिएन र तामझाम पनि केही देखिएन। कसैको सहयोग बिना ६३ बर्षे चे डल्हा रसुवाका भीर पाखामा सवारी साधन नचढी पैदल हिँडेको देख्दा अगाडी पछाडि सुरक्षाका लावालस्कर लगाइ हिँड्ने सौख भएका हामीलाई अचम्म लाग्नु पनि स्वाभाविक नै थियो । उहाँले भनेकै कुरा स्मरण गर्दा -“ मुख्यतः मुलुकको भविष्य हालका कलिला बालबालिकामा गरिने बौद्धिक लगानीले महत्त्वपूर्ण अर्थ राख्दछ। हामी प्रौढ त केही समयपछि मरेर जान्छौ नै ।

हामीले राज्य प्रणालीमा जस्तो शिक्षा प्रणालीको थिति बसाएका छौ त्यै अनुसारको जनशक्ति भविष्यमा राज्यले ग्रहण गर्नुपर्ने हुन्छ। शिक्षाप्रणालीलाई विशुद्ध राजनीतिबाट टाढै राख्नुपर्छ तर राज्यको राजनीतिक, सामाजिक विकास प्रणालीको ज्ञान हुनु पर्दछ। मुलुकको उज्यालो विकासका लागि राज्यले शिक्षा क्षेत्रमा सिन्सियर भई प्रमुख रूपमा लगानी गर्नु आवश्यक हुन्छ। अहिले हामीले बाल विद्यार्थीमा गरेको लगानीले भविष्यमा असल र सीपयुक्त क्षमतावान् जनशक्ति उत्पादन हुन्छन् र यस्ता जनशक्तिको बौद्धिकताले देशलाई थप विकासमा लैजान मद्दत गर्छ।” यस अर्थमा तिब्बत क्षेत्रमा समयानकुलको उच्च प्रविधिमा आधारित पूर्वाधार विकासका साथै मानव विकास अर्थात् विशेषतः  शिक्षा, स्वास्थ्य क्षेत्रमा सरकारले नै उच्च लगानी गर्ने योजना बनाएको आभास मैले बुझेको थिए ।

यी सामान्य सुधारका विषय हामी सबैले थाहा पाएकै र बुझेकै विषय पनि हो । यो भन्दा पनि अथाह ज्ञानको भण्डारको घमण्ड हामीसँग छ । हामीले विश्वका बाद र क्रान्तिका ठेली पनि अध्ययन गरेका छौ, विश्व विकासका सूत्र कण्ठ पनि गरेका छौँ, विकास व्यवस्थापनका थ्यौरी पनि घोकेकै छौ।अनि, खरररर घण्टौँ बिचार सम्प्रेषण र बहस गर्न सक्ने सामर्थ्य हामीमा छ। तर,  हामी सधैँ सतहमा मात्र किन छौँ ? प्रश्न यहाँनेर छ । या हामीले हाम्रो ज्ञानलाई दिमागमा मात्र सीमिततामा राख्यौ, अँध्यारो कोठामा राख्यौँ या गफ लगाउन खप्पिस छौँ। वास्तवमा मुलुकमा राजनीतिक जागरणले मात्र पनि विकासको मूल फुट्न सक्तैन ।यो प्रयोगसिद्व भइसकेको विषय पनि हो। नेपालको प्रजातान्त्रिक अभ्यास हुँदै हालसम्मको ७० वर्षको भुक्तभोगी अनुभव हामीसँग जीवितै छ। तर, फेरी पनि विकासको गति त  धिमे नै छ त ।

हामीलाई समस्या पनि थाहा छ, कारण पनि थाहा छ र समाधान पनि थाहा फेरी हामी किन गरिरहेका छैनौ ! सवाल यहाँनेर पनि छ। जनतामा विकासको उत्साह र जाँगर भयावह देखिन्छ । मुलुकको भिजन र समृद्धिको रेखा कोर्ने अवसर अझै पनि छ । अब पनि विकास र समृद्धिको गतिलाई भन्दा व्यक्तिवादी उपभोगवादमा रुचाउने वर्ग एजेन्टका सवारी र पैदल यात्रालाई घरको ढोकाभित्र प्रवेश गराउने होडबाजीमै रमाए जनताले सहज छाड्ने देखिँदैन।

इतिहास सबैले लेख्दैनन् र लेख्न सक्ने सामर्थ्य पनि हुँदैन र काम गर्ने अवसर तथा समय सधैँ आउँदैन । जसरी हामी इतिहासका पानाहरूमा विकास र समृद्धिका नायक भनेर अहिले अध्ययन गर्छौ अनि कण्ठ गर्छौ त्यसरी भविष्यमा हाम्रा सन्ततिले पनि हामीलाई सहजै चिन्न र बुझ्न तथा गर्वले शिर निहुराउन सक्ने इतिहास रच्न हतार गरौँ। सतिले सरापेको देश भनेर आरोप प्रत्यारोप गर्दै दिन गनेर नबसौँ । यहाँ क्षण क्षण समयको महत्त्व छ तसर्थ घेराबन्दीबाट माथि उठौँ र अब विकास समृद्धिको जागरण पैदा गरौँ । मुलुकको सर्वाङ्गीण विकास नगरौँ, विकसित मुलुकको दाँजोमा नपुर्‍याउ भन्ने त यहाँ को पो होला र । तर, हेर्न र बुझ्न बाँकी छ कि यी विषयहरू गफले मात्र होइन, व्यवहारले पनि पुष्टि तथा सिद्ध गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस