बढ्यो भोजपुरे खुकुरीको माग, दक्ष कालीगढको अभावले उत्पादनमा कमी  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

बढ्यो भोजपुरे खुकुरीको माग, दक्ष कालीगढको अभावले उत्पादनमा कमी 


८ माघ २०७९, आइतबार


काठमाडौँ । ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमासमेत हुने गरेको छ । यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ ।

देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले खुकुरी बनाउने कालीगढ पेसा लोप हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालीगढ अभावले उत्पादनमा कमी आएको स्थानीय व्यापारीको भनाइ छ । खुकुरी बनाउने पेसा नयाँ पुस्ताको रोजाइमा नपर्दा उत्पादनमा कमी आएको देखिन्छ । यहाँ भोजपुरे, सिरुपाते, बाँस पाते, चित्लाङे, कोचिमुडा, पानवाला, धारखोले, बोखिमेलगायतका खुकुरी बन्ने गरेका छन् ।

यस्ता खुकुरी विश्व बजारमा समेत प्रख्यात छ । यी खुकुरीको बजारमा धेरै माग हुने गरेको छ । यहाँ उत्पादन भएका खुकुरी आकारअनुसार न्यूनतम रु एक हजारदेखि अधिकतम रु १० हजारसम्म पर्ने व्यवसायीको भनाइ छ ।

यहाँको खुकुरीको मागलाई धान्नै मुस्किल रहेको स्थानीय व्यापारीको भनाइ छ । विदेश तथा बाहिरका जिल्लाबाट दुईदेखि चार सयसम्म खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जिते खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताए ।

कालीगढ पेसालाई बचाइराख्नका लागि खुकुरी बनाउनेलगायतका तालिम सञ्चालन गरिए पनि युवाशक्ति विदेश जाने लहरले समस्या भएको स्थानीय खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठ बताउँछिन् ।

पेसालाई जोगाइराख्न राज्यले विशेष खालको कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव छ ।

दशक अघिसम्म धेरै कालीगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिक रूपमा यो काम गर्ने मानिसको सङ्ख्या न्यून हुँदै गएको छ । बढी मेहनत गर्नुपर्ने साथै व्यवसाय गर्नका लागि आवश्यक हुने कच्चा पदार्थ अभावसँगै नयाँ पुस्तामा यसप्रति मोह कम भएकाले यो पेसा सङ्कटमा पर्दै गएको कालीगढ हर्कबहादुर विश्वकर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस