काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ६ महिनामा सरकारले लक्ष्यको ३२.७१ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । यसमा सबैभन्दा धेरै सङ्कलन पुस महिनामा भएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस महिनामा मात्र १ खर्ब २९ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो महिना आयकरको पहिलो किस्ता बुझाउने महिना समेत हो ।
सोही कारण अन्य महिनाको तुलनामा पुसमा बढी राजस्व उठेको हो । पुस मसान्तसम्म ४ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यस आवमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्वबाट सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
पुस १ मा ३ खर्ब २९ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएकोमा ३० पुस मा ४ खर्ब ५८ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसमध्ये कर राजस्व ४ खर्ब ५ अर्ब २६ करोड रुपैयाँ भएको छ । गैर कर राजस्व ५३ अर्ब ७१ करोड रुपैयाँ सङ्कलन भएको छ । यसबीचमा अनुदानबाट ४ अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेको सरकारले अन्य आम्दानी भने ३१ अर्ब ५ करोड रुपैयाँको भएको छ । यस अनुसार ६ महिनामा सरकारको कुल आम्दानी ४ खर्ब ९४ अर्ब ८४ करोड रुपैयाँ बराबर भएको छ ।
आम्दानी भन्दा खर्च ८१ अर्ब ५० करोड बढी
महालेखाको तथ्याङ्क अनुसार पुस मसान्तसम्म सरकारको आम्दानी भन्दा खर्च सवा खर्बले बढी देखिएको छ । यस अवधिमा सरकारको खर्च ५ खर्ब ७६ अर्ब ३४ करोड रुपैयाँ भएको छ ।
आम्दानी भने ४ खर्ब ९४ अर्ब ८४ करोड रुपैयाँ भएको छ । जस अनुसार सरकारको आम्दानी भन्दा खर्च ८१ अर्ब ५० करोड रुपैयाँ धेरै भएको छ । सरकारले पहिलो ६ महिनामा कुल लक्ष्यको ३२.१३ प्रतिशत बजेट खर्च गर्न सकेको छ ।
पुँजीगत खर्च ५३ अर्ब ४५ करोड मात्र
६ महिनाको अवधिमा पुँजीगत प्रकृतिको खर्च मात्र ५३ अर्ब ४५ करोड रुपैयाँ मात्र भएको छ । यो कुल पुँजीगत खर्च गर्ने लक्ष्यको मात्र १४.०४ प्रतिशत हो । तर, चालु खर्च भने ४ खर्ब ५५ अर्ब १२ करोड रुपैयाँ भएको छ । यो कुल लक्ष्यको ३८.४६ प्रतिशत हो । यस आवमा सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गर्दै छ । यसबीचमा वित्तीय व्यवस्थामा ६७ अर्ब ७६ करोड रुपैयाँ बजेट खर्च भएको छ ।
यस्तो छ सरकारी खर्च
चालु : ४ खर्ब ५५ अर्ब १२ करोड (३८.४६ प्रतिशत)
पुँजीगत : ५३ अर्ब ४५ करोड (१४.०५ प्रतिशत)
वित्तीय व्यवस्था : ६७ अर्ब ७६ करोड (२९.४४ प्रतिशत)
कुल :५ खर्ब ७६ अर्ब ३४ करोड (३२.१३ प्रतिशत)