प्रदेश १ मा बाबुराम गौतम सभामुख बन्ने निश्चित   « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रदेश १ मा बाबुराम गौतम सभामुख बन्ने निश्चित  


२६ पुस २०७९, मंगलबार


विराटनगर । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य बाबुराम गौतम प्रदेश १ प्रदेशसभाको सभामुख हुने निश्चित भएको छ ।

प्रदेशसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ताको निर्धारित समयमा गौतमको मात्रै उम्मेदवारी परेको छ । उनको मात्रै उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । सभामुखको निर्वाचन पुस २८ गते हुनेछ ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक र माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा एकीकृत समाजवादीका कमल जबेगुलाई समर्थक राखेर गौतमले उम्मेदवारी दिएका हुन् । ५० वर्षीय गौतम ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

प्रदेश १ प्रदेशसभाको सभामुख चयनको कार्यतालिका आजै सार्वजनिक भएको थियो । तालिका अनुसार आज ३ बजेदेखि ५ बजेसम्मका लागि उम्मेदवारी मनोनयनको समय दिइएको थियो । उक्त अवधिमा गौतम बाहेक कसैको उम्मेदवारी नपरेको संसद सचिवालयका प्रमुख सचिव गोपाल पराजुलीले जानकारी दिए ।

संसदमा दोस्रो ठूलो दल नेपाली काँग्रेस प्रतिपक्षमा रहे पनि उसले सभामुखमा उम्मेदवारी दिएन । यस्तै नेकपा एकीकृत समाजवादीले उनै गौतमलाई समर्थन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस