संसद् विघटन फेरी ओली-प्रचण्ड विग्रहको कारण बन्न सक्छ : गगन थापा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसद् विघटन फेरी ओली-प्रचण्ड विग्रहको कारण बन्न सक्छ : गगन थापा 


२५ पुस २०७९, सोमबार


काठमाडौँ। नेपाली काँग्रेसका सांसद गगन थापाले संसद् विघटनको विषय प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको विग्रहको कारण बन्न सक्ने बताएका छन् । 

संसद् भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आजको बैठकमा नै प्रधानमन्त्री अप्ठ्यारोमा परेको बताए ।

“ओलीजीले हालको प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्नुभयो । संसद् विघटन सोह्रै आना सही हो भनिरहँदा प्रचण्ड टेबुल ठोकौँ कि नठोकौँ भनेर अलमलमा पर्नुभयो,” उनले भने ।

अघिल्लो पटकको विवादको कारणबारे छलफल नै नगरी अघि बढेकाले सोही विषय विग्रहको कारण बन्ने थापाको भनाइ छ ।

“आजका पहिलो बैठकमा उहाँहरूले गरेको सम्बोधनले के सङ्केत गर्छ भने जुन विषय अघिल्लो संसद्मा विग्रहको कारण बन्यो आज यो विषयको बीजारोपण भयो,” उनले भने, “यो नै विग्रहको कारण बन्छ । यो विषय हेर्दा सामान्य देखिए पनि मलाई विशेष कुरा लाग्यो ।”

Tags :
प्रतिक्रिया दिनुहोस