शुक्ल गण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

शुक्ल गण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र


२४ पुस २०७९, आइतबार


दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घोर्मेस्थित नवीन टोल मार्गमा लागत साझेदारीमा सडक कालोपत्र गरिएको छ । स्थानीयवासी र नगरपालिकाको लागत साझेदारीमा उक्त मोटर मार्ग कालोपत्र गरिएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा नगर स्तरीय साझेदारी योजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाको ७० प्रतिशत र स्थानीय उपभोक्ताको ३० प्रतिशत नगद योगदानबाट उपभोक्ता समितिमार्फत सडक कालोपत्र सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष घनकुमारी आलेले बताए ।

कुल ७० लाख तीन हजार तीन सय ५६ को लागतमा सम्पन्न सडक कालोपत्र योजनामा नगरपालिकाबाट ४९ लाख र स्थानीय उपभोक्ताबाट २१ लाख तीन हजार तीन सय ५६ को साझेदारी गरेका छन् । मोटर मार्गको एक किलोमिटर सडक कालोपत्र भएपछि स्थानीयवासीलाई सहज भएको अध्यक्ष आलेले बताए । ‘सडक कालोपत्र नहुँदा वर्षामा हिलो र हिउँदमा धुलोको समस्याबाट स्थानीयवासी पीडित थिए, सडक कालोपत्र भएपछि स्थानीयवासीलाई राहत महसुस भयो’, उनले भने ।

अवरुद्ध कृष्ण मार्ग सञ्चालन हुने
तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटर मार्ग सञ्चालन हुने भएको छ । विगत एक महिनादेखि अवरुद्ध रहेको उक्त मोटर मार्ग पुस २८ गतेदेखि सञ्चालन हुन लागेको हो । कृष्ण मोटर मार्गअन्तर्गत लिखाबाट पोखरी छापसम्मको बाटो कालोपत्रका लागि उक्त मार्ग अवरुद्ध भएको छ । मोटर मार्ग अवरुद्ध भएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको छ ।

गाउँपालिकामा बसेको सर्वदलीय बैठकले २८ गतेदेखि यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाअन्तर्गतका सबै राजनीतिक दलका प्रतिनिधि तथा यातायात व्यवसायीबीच भएको छलफलपछि मोटर मार्ग सञ्चालन गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । पुस २७ गतेसम्म सडक कालोपत्रका काम सम्पन्न हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस