सभामुखमा पृथ्वीसुब्बा गुरुङ र छविलाल विश्वकर्माको दाबी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सभामुखमा पृथ्वीसुब्बा गुरुङ र छविलाल विश्वकर्माको दाबी


१८ पुस २०७९, सोमबार


काठमाडौं । सभामुखमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माले दाबी गरेका छन् ।

दुबै नेताले सभामुखमा आफ्नो इच्छा रहेको कुरा अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुर्‍याएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन बन्दा प्रतिनिधिसभाको यो ५ वर्षे कार्यकालको सुरुको आधा समय सभामुख पद लिने सहमति भएको छ । पार्टीले नै सभामुख पाउने निश्चित भएपछि नेताहरु आफ्नो पक्षमा निर्णय गर्न नेतृत्वसमक्ष लबिङ गरिरहेका छन् ।

प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा सुरु हुँदैछ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार १० माघभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । त्यसलगत्तै सभामुखको निर्वाचनको प्रक्रिया सुरु हुन सक्नेछ ।

विश्वकर्मालाई अध्यक्ष ओली निकट नेताहरुले अगाडि सारेका छन् । उपाध्यक्ष सुवास नेम्बाङले समेत आफू निकटका नेताहरुसँग सभामुखमा बढ्ता सम्भावना छविलाल विश्वकर्माकै रहेको बताउने गरेका छन् । कतिपय नेताहरु भने ओलीले स्वयं नेम्बाङलाई नै सभामुख बन्न आग्रह गरेको दाबी गर्छन् ।

नेम्बाङले भने आफु सभामुख बन्ने कुनै सम्भावना नरहेको बताइरहेका छन् ।

विश्वकर्मा पार्टी र संसद दुवैतिर राम्रो भूमिका खेलिसकेको योग्य व्यक्ति भएको भन्दै नेम्बाङले दलित समुदायबाट सभामुख बन्दा त्यसले समाजमा बेग्लै अर्थ दिने टिप्पणी निकटस्थहरुसँग गर्ने गरेका छन् ।

यसपटक नेम्बाङको दाबी राष्ट्रपतिमा छ । संविधान निर्माणमा नेतृत्वदायी योगदान गरेको, अनि एमाले संस्थापनको स्पिरिटलाई बोक्न सक्ने व्यक्ति भएकाले उनी नै अध्यक्ष ओलीको पहिलो प्राथमिकतामा देखिन्छन् । ओलीले नेम्बाङलाई राष्ट्रपति बनाउन नचाहे सभामुख बन्न आग्रह गर्न सक्ने ओली निकट नेताहरु दाबी गर्छन् । नेम्बाङले भने त्यस्तो दाबीमा कुनै सत्यता नरहेको भन्दै आएका छन् । उनले आफैं मुख भने फोरिसकेका छैनन् ।

एमालेभित्र उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई सभामुख बनाउनुपर्ने मत पनि छ । स्वयं गुरुङ पनि सुरुमा विकास निर्माणसँग सम्बन्धित सरकारमा सहभागी हुन इच्छुक थिए । ‘म कार्यपालिकामा जिम्मेवारी चाहन्छु । मेरो नेचर पनि त्यस्तै छ’ भन्दै आएका गुरुङले पछिल्लो समय सभामुख बन्ने चाहना देखाएको बुझिएको छ ।

सभामुखमा आफ्नो दाबेदारी रहेको खबर उनले अध्यक्ष ओली समक्ष पुर्‍याएका छन् । तर, ओलीसित भेटेका नेताहरुका अनुसार को सभामुख बन्छन् भन्ने प्रष्ट संकेत मिलिसकेको छैन ।

उपमहासचिव गुरुङले भने सभामुखमा आफ्नो दाबेदारी रहेको संकेत गरेका छन् ।

गुरुङ गण्डकी प्रदेशको निवर्तमान मुख्यमन्त्री हुन् । उनी कम्युनिस्ट एकताको पक्षमा निरन्तर लागिरहेका नेता हुन् । यसकारण आफ्नो पक्षमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि सकारात्मक हुने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस