हामी रणनीतिक रूपमा कहाँ चुक्यौँ भन्ने कुराको समीक्षा गर्न जरुरी छ : खाँण « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

हामी रणनीतिक रूपमा कहाँ चुक्यौँ भन्ने कुराको समीक्षा गर्न जरुरी छ : खाँण


१६ पुस २०७९, शनिबार


बुटवल । नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले सत्तामा पुग्ने राजनीतिक पार्टीहरूका लागि स्वाभाविक प्रक्रिया भएको भन्दै यसलाई कसैले पनि असहजतापूर्वक अन्यथा लिन नहुने बताएका छन् ।

‘आफ्नो मूलभूत सिद्धान्त, अठोट, रणनीति र कार्यक्रमसहित सरकार सञ्चालनमा जाने सबै दलको प्रयास हुन्छ,’ उनले भने । यो सन्दर्भमा विविध प्राविधिक कारण, राजनीतिक कारण र राष्ट्रिय प्रभावले गर्दा पनि काँग्रेसलाई प्रतिकूलता देखिएको उनले बताए ।

देशभरका काँग्रेसका कार्यकताहरु आत्तिनुभन्दा पनि कहाँनेर आफूलाई सच्याउने विषयमा सोच्नुपर्ने उनको भनाइ छ । काँग्रेसको नीति र सिद्धान्तमा कुनै कमी नभएको भन्दै उनले भने, ‘हामी रणनीतिक रूपमा कहाँनेर चुक्यौँ भन्ने कुराको समीक्षा गर्न जरुरी छ ।’

बीपी कोइराला अध्ययन प्रतिष्ठानको छैटौँ साधारण सभा, चौथो अधिवेशन तथा ४६ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शनिबार उद्घाटन गर्दै खाँणले पार्टी र देशमा राजनीतिक परिवर्तनमा योगदान दिने बीपी कोइरालाको दुरदर्शीता आजको आवश्यकता भएको बताए ।

नेपालको राष्ट्रिय राजनीतिको धरातलमा पछिल्लो हिंसात्मक राजनीतिबाट मुलुकलाई निकास दिएर नेपालको राष्ट्रियतालाई सम्वद्र्धन गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई सबल, सुदृढ र प्रभावकारी बनाउँदै जनताको अधिकारलाई विस्तारित गर्ने क्रममा काँग्रेसले पछिल्ला चरणहरूमा राजनीतिक दलहरूसँग हातेमालो गरेको उनले बताए ।

अहिले पनि राजनीतिक दलहरूसँग हातेमालो गर्न जरुरी रहेको उनले दाबी गरे । काँग्रेस कमजोर भए देशको लोकतान्त्रिक प्रणाली कमजोर हुने भन्दै खाँणले लोकतन्त्र कमजोर हुँदा सिद्धान्त, नीति मात्र कमजोर नभएर जनताका हक अधिकार पनि कमजोर हुने बताए ।

‘देशको अहिले राजनीतिक धरातलमा कुन कुन राष्ट्रिय शक्तिसँग हातेमालो गर्दै लोकतान्त्रिक मूल्यको प्रवर्द्धन गर्ने हामीले नै रणनीति तर्जुमा गर्ने हो,’ उनले भने ।

दलहरूसँग सहमति, सहकार्य र एकताको हात अघि बढाएको र यसको पक्षमा दशौँ वर्षदेखि पार्टीभित्र क्रियाशील रहेको उनले दाबी गरे । कहिलेकाहीँ नेपालको राष्ट्रियता मजबुत गर्न, प्रजातन्त्र जोगाउन, काँग्रेसको प्रभावकारीताका लागि एकता गरौँ भन्दा पार्टीभित्र आलोचित हुनुपरेको उनले गुनासो गरे ।

‘आलोचनाको पात्र बनेको छु,’ उनले भने, ‘तर, पनि पार्टीभित्र नेपाली काँग्रेसले आफ्नो नीतिगत अडानका साथ अरू राजनीतिक दलहरूसँग सहमति, सहकार्य र एकता गर्नैपर्छ भन्ने पक्षमा म सधैँ उभिरहने छु, जतिसुकै अलोकप्रिय भएता पनि ।’

आफ्नो निर्वाचन क्षेत्रमा पार्टीभित्र र बाहिरका राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरू सक्रिय भएको उनले दाबी गरे । यसमा आफूले कुनै टिप्पणी नगर्ने खाँणको भनाइ छ ।

बीपी कोइरालाले जस्तै विचार, दृष्टिकोण र पार्टीका लागि जतिसुकै मूल्य चुकाउन आफू तयार रहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस