नेपाल-भारत ‘सूर्यकिरण’ सैन्य अभ्यास सम्पन्न « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपाल-भारत ‘सूर्यकिरण’ सैन्य अभ्यास सम्पन्न


१४ पुस २०७९, बिहिबार


काठमाडौँ । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ सम्पन्न भएको छ । दुई देशको सेनाबीच गत १ पुसदेखि सुरु भएको सूर्यकिरण सैन्य अभ्यास दुई सातासम्म सञ्चालन भएर बिहीबार सम्पन्न भएको हो ।

नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाको तर्फबाट गोरखा रेजिमेन्टका कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी रहेको उक्त सैन्य अभ्यासको बलाधिकृत रथी सरोजप्रताप राणाले समापन गरेका हुन् ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाका अनुसार समापन समारोहलाई सम्बोधन गर्दै रथी राणाले चुनौतीहरू प्रभावकारी ढङ्गले समाधान गर्नका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । ‘अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागीलाई बधाई दिनुहुँदै तालिमप्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीहरूलाई पनि प्रभावकारी ढङ्गले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो,’ निर्देशनालयले भनेको छ ।

नेपाली सेनाको मध्यपश्चिम पृतना हेडक्वार्टरअन्तर्गत रुपन्देहीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सम्पन्न भएको सूर्यकिरण सैन्य अभ्यासको १६औँ संस्करणमा विपद् व्यवस्थापन तथा उद्धार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरू समावेश गरिएका थिए ।

यो अभ्यासले दुई देशको मैत्रीपूर्ण पारस्परिक सम्बन्ध थप प्रगाढ हुने र दुवै देशको सेना आधारभूत सैनिक सिपको विकास हुनुका साथै आपसी समझदारी अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

नेपालले २०६७ सालदेखि भारतसँग संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ गर्दै आएको छ । यो अभ्यासलाई दुई देशले पालैपालो यो अभ्यासको आयोजना गर्ने गरेका छन् । तर कोरोना महामारीका कारण दुई वर्ष रोकिएको थियो ।

महामारी नियन्त्रण हुन थालेपछि गएको वर्षदेखि उक्त संयुक्त सैन्य अभ्यास पुनः सुरु भएको हो । अघिल्लो वर्ष सम्पन्न १५ औँ ‘सूर्यकिरण’ सैन्य अभ्यास भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस