बादशाह कुर्मीको शपथ रोक्न उजुरी, कारबाही गर्न गृहमन्त्रीलाई प्रदेश प्रमुखको पत्र   « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

बादशाह कुर्मीको शपथ रोक्न उजुरी, कारबाही गर्न गृहमन्त्रीलाई प्रदेश प्रमुखको पत्र  


१३ पुस २०७९, बुधबार


काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ को प्रदेश सभा २ बाट निर्वाचित बादशाह कुर्मी शपथ नगराउन लुम्बिनी प्रदेश प्रमुखसमक्ष निवेदन परेको छ ।

महिला अधिकार मञ्च बाँकेले नेपाली काँग्रेसबाट निर्वाचित बादशाहलाई शपथ नगराउन प्रदेश प्रमुख अमिक सेरचन समक्ष उजुरी दिएको हो ।

प्रदेश सांसद निर्वाचित बादशाहमाथि नेपालगञ्ज उपमहानगरपालिका-१७ बस्ने निर्मला कुर्मी र नकुन्नी धोबीको अपहरण तथा हत्या गरेको आरोप छ ।

अधिकारकर्मी रुबि खान सहितले निर्मला कुर्मीले न्याय पाउनु पर्ने माग सहित ०७८ असोजमा नेपालगञ्जदेखि काठमाडौँसम्म पैदल यात्रा गरेका थिए । त्यसपछि सरकारले निर्मला कुर्मी हत्या छानबिन गर्न गृहमन्त्रालयका सचिव हिरालाल रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

समितिले १४ कात्तिक ०७८ मा बादशाह कुर्मी दोषी देखिएकाले उनीमाथि अनुसन्धान गर्नुपर्ने निर्क्योल सहितको प्रतिवेदन तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको थियो । यो प्रतिवेदनपछि बादशाह सहित ८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी समेत परेको छ । सांसद कुर्मी भने भदौ ०७८ देखि नै हाजिरी जमानीमा छन् ।

मन्त्रालयको छानबिन समितिले नै छानबिन गर्नु भनेका बादशाहलाई नेपाली काँग्रेसले प्रदेश सभामा उठायो । 

बादशाहको शपथ रोक्न प्रदेश प्रमुख समक्ष उजुरी परेपछि प्रदेश प्रमुख अमिक शेरचनले गृह मन्त्रालयलाई पत्राचार गरेका छन् । बादशाह कुर्मीको शपथ रोक्न निवेदन आएको हुँदा आवश्यक कारबाही गरिदिन अनुरोध गर्दै प्रदेश प्रमुखले गृह मन्त्री रवि लामिछानेलाई पत्र पठाएका छन् ।

०६४ मा संविधानसभा सदस्य समेत रहिसकेका बादशाह कुर्मीले १३ हजार ४५० मत सहित प्रदेशसभा सांसद जितेका हुन् । यो घटनामा अहिले पनि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । मन्त्रालयको छानबिनले बादशाहमाथि छानबिन गर्नु पर्ने औँल्याएको थियो । बादशाह मृतक निर्मला र नकुन्नी धोबीका छिमेकी हुन् । बादशाहको शपथ नरोकिए आन्दोलन गर्ने चेतावनी अधिकारकर्मीहरूले दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस