काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाई दिँदै उक्त निर्देशन दिएका हुन्।
प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरुलाई प्रधानमन्त्री देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको सञ्चार मन्त्रीसमेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनले काँग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढ्न आफूहरूले चाहेको पनि स्पष्ट पारे।
मन्त्री कार्कीले भने, ‘यो कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीजीले संसदमा, प्रतिनिधिसभामा सबैलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देशन गर्नुभएको छ।’
मन्त्री कार्कीले चाँडै नै सत्तारुढ गठबन्धन दलको बैठक बस्ने र सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुने विश्वाससमेत व्यक्त गरे।