सामाजिक सुरक्षाको लैङ्गिक दृष्टिकोण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सामाजिक सुरक्षाको लैङ्गिक दृष्टिकोण



बृहत् सामाजिक सुरक्षा बहु आयामिक हुन्छ । व्यक्तिको जीवनचक्रको हरेक कालखण्डमा प्रत्यक्ष तथा परोक्ष प्रभाव सृजना गर्न सक्ने गरी विनिर्माण गरिएका सामाजिक सुरक्षा कार्यक्रमहरूले सोही बमोजिमको प्रभाव सृजना गर्ने विश्वास गरिन्छ । युरोपियन देशहरूमा प्रयोग भई आएको सामाजिक सुरक्षाको ‘फ्रम वम टु टम’ भन्ने प्रचलित कथनलाई ‘कोख देखी शोक सम्म’ भनेर अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपालीकरण गरी प्रयोगमा ल्याएका छन् । यसको अर्थ कोख देखी शोकसम्म नै जोडिएको हुन्छ सामाजिक सुरक्षा । विशेष गरी सामाजिक सुरक्षालाई मर्यादित श्रमसँग जोडेर व्याख्या गर्ने गरिन्छ । जीवनचक्रमा आइ पर्ने विभिन्न जोखिमहरूको व्यवस्थापनसँग जोडेर यसको विश्लेषण हुन्छ तर यसका बहु आयामहरू मध्ये महिला सशक्तीकरण पनि एक महत्त्वपूर्ण तर कम विश्लेषण हुने गरेको आयाम भएकोले यो आलेख सामाजिक सुरक्षाको लैङ्गिक दृष्टिकोणबाट तयार गरिएको छ ।

विषय प्रवेश:

मोसर नामका विद्वानले महिलाको भूमिकाको सन्दर्भमा एक प्रसिद्ध ढाँचाको प्रयोग गरेका छन् जसलाई लैङ्गिक विश्लेषण ढाँचाको नाम दिइएको छ । जस अनुसार महिलाहरूले प्रजनन, उत्पादन र सामुदायिक गरी तिन प्रकारका भूमिकाहरू हुने गर्दछन् । प्रजनन सम्बन्धी कार्य अन्तर्गत बच्चाको जन्म दिने, हुर्काउने तथा परिवारको भरण पोषण र संरक्षण सम्बन्धी कार्य पर्दछ । बच्चाको जन्म भविष्यको श्रमसँग समेत जोडिने हुँनाले यसको महत्त्व धेरै छ तर हाम्रो सामाजिक परिपाटिले यो कार्यको आर्थिक सामाजिक महत्त्व नदेख्नु नै सबै भन्दा ठुलो विभेदको बीजारोपण हो । एउटा बच्चाको जन्म दिएर हुर्काउने कार्यमा महिलाको कम्तिमा डेढ वर्ष समय खर्च भएको हुन्छ भने परिवारको देखभालमा महिलाको जीवनको दुई तिहाइ भन्दा बढी समय व्यतीत हुने गर्दछ । पुरुषहरू प्रजनन तथा देखभाल सम्बन्धी कार्यबाट सजिलै उम्कन सक्दछन् । अर्थात् यो कार्य पुरुषहरूले गर्न सक्दैनन् यो कार्यमा पुरुषहरूको केवल सहायक भूमिका मात्रै हुने गर्दछ ।

महिलाको रिप्रडक्सनमा खर्च हुने जत्तिकै समयमा पुरुषले अन्य कार्य गरेर आर्जन गरेको रकमको दुरुस्त हिसाब निस्कन्छ तर महिलाको यस कार्यको परिवार, समाज र राज्यले नै यसको अवसर लागतको हिसाबकिताब राख्दैन । स्पष्ट छ कि महिलाको कमजोरिकरण यही प्रजनन सम्वन्धी प्राकृतिक एकाधिकारबाटै शुरु भएको छ जसको व्यवस्थापनमा सामाजिक सुरक्षा प्रभावकारी सिद्ध हुन सक्दछ ।

त्यसै गरी महिलाले गर्ने अर्को कार्य भनेको पुरुष समान उत्पादनशील काममा सहभागिता हो । पछिल्लो समय विश्वव्यापी रूपमा नै उत्पादनमा महिलाको भूमिका वृद्धि हुँदै गएको अवस्था छ तथापि श्रम शक्तिमा महिला सहभागिता दर पुरुषको तुलनामा निकै नै कम छ । कम हुनुको पहिलो कारण प्रजनन तथा देखभाल सम्बन्धी कार्यमा महिलाको सहभागिता हो भने दोस्रो विभिन्न कारणले शिक्षा तथा अन्य अवसरहरूबाट महिला पछाडि पर्नु हो । श्रम बजारमा सहभागिताको सन्दर्भमा मात्रै नभएर औपचारिक श्रम बजारको पारिश्रमिकको सन्दर्भमा समेत महिलामाथि विभेद हुने गरेको देखिन्छ । उत्पादनमा सहभागिताको हिसाबले ठुलो संख्यामा महिलाहरू अनौपचारिक प्रकृतिका रोजगारीमा रहनुले उनीहरूको जीवनयापन थप जोखिमपूर्ण बनेको हुन्छ । यस्ता जोखिमहरूको व्यवस्थापन सामाजिक सुरक्षा मार्फत गर्न सकिन्छ ।

महिलाले गर्ने तेस्रो कार्य सामाजिक कार्यमा सहभागिता वा सामुदायिक कार्य हो । चाडवाडको व्यवस्थापन होस वा जात्रा, भोज, तिथि श्राद्ध, पूजापाठ, बिहे, व्रतबन्ध सबै कार्यमा पुरुषको तुलनामा महिला सहभागिता बढी महत्त्वपूर्ण  हुने गर्दछ । सामाजिक कार्यहरूमा महिला उच्च दर्जाका व्यवस्थापक प्रमाणित छन् । सामान्यतया यस्ता सामाजिक सांस्कृतिक कार्यको व्यवस्थापक महिला नै हुने गर्दछन् भने पुरुष सामान्यतया उपभोक्ता । तर  यी कार्यहरूको व्यवस्थापनमा समय सिप र लगनशीलता खर्चिए बापत पनि महिलाले गरेको कामको आर्थिक लेखाजोखा हुँदैन फलस्वरूप आर्थिक परनिर्भरताको जोखिम बढेर जान्छ ।

महिला सशक्तीकरणको लागी सामाजिक सुरक्षा हस्तक्षेप

 समग्रमा भन्नु पर्दा महिलाले गर्ने धेरै कार्यहरूको आर्थिक हिसाबले लेखाजोखा नगरिएकोले मात्रै आर्थिक दृष्टिमा महिला पछाडि परेका हुन । श्रम वा जिम्मेवारीको हिसाबले पुरुषको भन्दा कम भूमिकामा महिला छैनन् । हामीले माथि नै चर्चा गरी सकेका छौ की सही अर्थमा विनिर्माण गरिएको वृहत् सामाजिक सुरक्षा कार्यक्रम भित्र व्यक्ति जन्मनु अघि देखी मृत्यु पर्यन्तका घटनाहरूमा सामाजिक सुरक्षाको प्रत्याभूति गरिएको हुन्छ ।  के त्यसो हो भने महिलाको भूमिकालाई जीवनचक्रमा आधारित सामाजिक सुरक्षाको माध्यमबाट मर्यादित बनाउन सकिन्छ त ? त्यसो हो भने महिलाका विभिन्न पृथक् भूमिकाहरूमा सामाजिक सुरक्षाले कसरी काम गर्दछ र ती कार्यक्रमहरू मार्फत कसरी महिला सशक्तीकरण सुनिश्चित गर्न सकिन्छ भनेर केही उदाहरणहरू मार्फत हेरौँ ।  

महिलाको पहिलो र अति संवेदनशील भूमिका प्रजनन तथा देखभाल सम्बन्धी कार्यमा सामाजिक सुरक्षा मार्फत गर्भावस्थाको परीक्षण, सुत्केरी हुँदाको उपचार, नवजात शिशुको उपचार, सुत्केरी बिदा र बिदा बापतको भुक्तानी, शिशु स्याहार र महिलाको पोषणको लागी खर्चको व्यवस्था गरिएको हुन्छ । यसरी हेर्दा सामाजिक सुरक्षामा आबद्ध कुनै महिलाले प्रजनन अधिकारको प्रयोग निर्धक्क गर्न सक्दछन् । प्रजनन सम्बन्धी खर्चको व्यवस्थापन सामाजिक सुरक्षा मार्फत हुन्छ । अझ नर्वे लगायत कतिपय देशहरूले ‘प्याटरनिटि लिभ अलाउन्स’ अर्थात् सुत्केरी स्याहार बिदामा बसेको पुरुष कर्मचारीहरूलाई समेत भत्ता प्रदान गर्ने व्यवस्था गरेको छ ।

महिला र पुरुषले सुत्केरी हुनु अघि र पछि गरी ३ देखी ६ महिना सम्म बिदा बस्न सक्ने व्यवस्था गरिएको छ । नेपालमा पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध महिला कर्मचारीले सुत्केरी हुँदा ९८ दिन सम्मको बिदा र सो बापतको भुक्तानी प्राप्त गर्ने व्यवस्था छ भने पुरुषले १५ दिन सम्मको सुत्केरी स्याहार बिदा पाउने व्यवस्था श्रम ऐनले गरेको छ । यसरी हेर्दा सामाजिक सुरक्षा कार्यक्रमले खर्चको मात्रै जोहो गरी दिने नभएर पुरुषहरूलाई समेत परिवारको देखभालको काममा जिम्मेवार बनाउने प्रयत्न गरेको देखिन्छ । यस अर्थमा महिलाको आर्थिक स्वतन्त्रता र जिम्मेवारीको बाँडफाँड मार्फत महिला सशक्तीकरणको लागी सामाजिक सुरक्षा कार्यक्रमको महत्त्व हुने गर्दछ ।  

महिलाको दोस्रो भूमिका अर्थात् उत्पादन सम्बन्धी कार्यमा त झन् सामाजिक सुरक्षा कार्यक्रमको प्रभाव अझ धेरै हुने गर्दछ । सामाजिक सुरक्षा कार्यक्रम मार्फत न्यूनतम ज्यालाको प्रत्याभूति गरिएको हुन्छ भने महिला र पुरुष कर्मचारीहरू बिचमा हुन सक्ने ज्यालाको विभेदलाई समेत करेक्सन गर्ने काम सामाजिक सुरक्षाले गर्न सक्छ । कामको सिलसिलामा हुने दुर्घटनाको उपचार, अस्वस्थ हुँदाको उपचार र बिदा बस्दाको भुक्तानी, व्यवसायसँग सम्बन्धित दीर्घकालमा देखा पर्न सक्ने रोगको उपचारको व्यवस्था सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत पर्दछन् । अझ कोही व्यक्ति कामको सन्दर्भमा दुर्घटनामा परी अशक्त भएमा आजीवन अशक्तता पेन्सन र मृत्यु भएमा परिवारले सुविधा पाउने हुनाले कामकाजी व्यक्ति निर्धक्क भएर काम गर्न सक्दछ । यसले गर्दा उत्पादन र उत्पादकत्व समेत वृद्धि हुने विश्वास गरिएको हुन्छ । विशेष गरी महिलाहरूको सहभागिता अनौपचारिक रोजगारीमा बढी देखिएको सन्दर्भमा त्यस्तो क्षेत्रमा हुने आम्दानीको अनिश्चितता जस्ता जोखिमलाई मध्यनजर गरी राज्यको सह योगदानको व्यवस्था गरी न्यूनतम जीवनयापनको सुनिश्चितता गर्न सकिन्छ । तसर्थ, महिलाहरूको श्रम बजारमा सम्मानजनक सहभागिता अभिवृद्धि गर्न सामाजिक सुरक्षा कार्यक्रमहरू अति नै महत्त्वपूर्ण हुने गर्दछन् ।

जब महिलाहरूलाई सामाजिक सुरक्षा हस्तक्षेप मार्फत न्यूनतम आम्दानीको प्रत्याभूति गराउन सकिन्छ तब उनीहरूको सामाजिक भूमिकामा समेत सोही अनुसार परिवर्तन हुन सक्दछ । मानवीय स्वतन्त्रताको महत्त्वपूर्ण कडीको रूपमा रहेको आर्थिक स्वतन्त्रताले खुम्चिएर रहेको सामाजिक भूमिकालाई विस्तार गर्नुका साथै राजनैतिक भूमिका निर्वाहको लागी समेत महिलालाई सक्षम बनाउने हुँदा सामाजिक सुरक्षाको प्रभाव महिलाको हरेक कार्यसँग जोडिएको देखिन्छ ।

हाम्रो अनुभव

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित वृहत् सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न थालेको २०७९ श्रावण १ गते ३ वर्ष पुरा भएको छ । यस अवधिमा कोषमा आबद्ध ३ लाख ७५ हजार भन्दा बढी योगदानकर्ताहरू मध्ये करिब ३५% महिला योगदानकर्ताहरू रहेका छन् । कोषमा आबद्ध महिला र पुरुषहरूको सन्तुष्टिको स्तर मापन गर्न गरिएको सर्वेक्षणले के देखायो भने पुरुष योगदानकर्ताहरूको तुलनामा महिला योगदानकर्ताहरू कोषले प्रदान गर्ने सुविधाहरूबाट बढी लाभान्वित तथा सन्तुष्ट छन् । कोष प्रति सकारात्मक महिलाहरू मध्ये पनि मातृत्व सुविधा प्राप्त गरेका महिलाहरू बढी सन्तुष्ट रहेको पाइयो भने विगत दुई वर्षमा प्रतिशतको हिसाबले हेर्दा आबद्ध पुरुष योगदानकर्ताहरू मध्ये स्वास्थ्य उपचार सुविधा दाबी गर्ने पुरुषको प्रतिशत भन्दा महिलाको त्यस्तो प्रतिशत बढी रहेको पाइयो ।

कोषले सञ्चालन गर्ने सुविधा मध्ये वृद्धावस्था सुविधा अन्तर्गतको पेन्सन प्राप्त गर्न ६० वर्ष उमेर पुग्नु पर्ने प्रावधान रहेको छ । यसको सन्दर्भमा महिला र पुरुषको धारणा तुलना गर्दा महिलाहरूले यो प्रावधानलाई सहजै आत्म साथ गरेको देखियो । वृद्धावस्थाको सुरक्षाको सन्दर्भमा महिलाहरू बढी संवेदनशील रहेको र त्यसको लागी अहिले गर्नु पर्ने योगदानलाई बचतको रूपमा स्वीकार गरेको पाइयो जबकि ५०% भन्दा बढी पुरुषहरूले वृद्धावस्थाको लागी गरिएको योगदानलाई आफ्नो मन मर्जी गर्न सकिने लगानीलाई कोषले नियन्त्रण गरेको भन्ने जस्तो गुनासो गर्ने गरेको देखिन्छ ।

समग्रमा भन्नु पर्दा हामीले गुनासो सम्बोधन गर्दै गर्दा र अनौपचारिक रूपमा गरिएको सर्भेहरूले कोषमा आबद्ध महिलाहरू कोषले प्रदान गर्ने सुविधाबाट सन्तुष्ट र भविष्य प्रति संवेदनशील रहेको देखाउँदछ । सुरक्षा योजनाहरूलाई थप व्यवस्थित गर्न सकेमा महिलाको सम्मानपूर्ण जीवनको लागी सामाजिक सुरक्षा कार्यक्रम कोषे ढुङ्गा साबित हुने देखिन्छ । यसले महिला सशक्तीकरणको सन्दर्भमा मात्र नभई समन्यायिक समाजको विकाशमा समेत योगदान गर्न सक्दछ ।

उप संहार

समग्रमा भन्नु पर्दा सामाजिक सुरक्षा कार्यक्रमहरूले महिलाको विविध भूमिकालाई न्याय गर्न सक्दछ । यसले महिला सशक्तीकरण र आर्थिक सामाजिक समावेशिता वृद्धि गर्न समेत सहयोग पुग्ने देखिन्छ । अनौपचारिक श्रम बजारमा रहेका ठुलो सङ्ख्याका महिला श्रमिकको सामाजिक सुरक्षाको लागी राज्य सह योगदानकर्ताको रूपमा आउन आवश्यक छ । श्रम बजार बाहिर रहेका महिलालाई श्रम बजारमा प्रवेश गराउने अन्यथा नगद हस्तान्तरण मार्फत न्यूनतम सुरक्षाको प्रत्याभूति गराउने सन्दर्भमा राज्य संयन्त्रहरू चुक्नु हुँदैन । अन्ततः सामाजिक सुरक्षा कार्यक्रम कल्याणकारी राज्य व्यवस्थाको अभिन्न अङ्ग भएको र यस कार्यक्रम मार्फत महिला सशक्तीकरणमा समेत प्रभाव सृजना गर्न सकिने हुँदा कार्यक्रमको व्यवस्थापनमा समयमै राज्यका सम्बन्धित निकाय, निजी क्षेत्र र आम नागरिकको उल्लेख्य सहभागिता र सहयोग हुन आवश्यक देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस