काठमाडौँ । स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना सुरु गर्न नेपाली काँग्रेसले निर्वाचन आयोगसँग आग्रह गरेको छ।
आज काँग्रेसका नेताहरू रामचन्द्र पौडेल, स्याङ्जा २ मा उम्मेदवार रहेका उपसभापति धनराज गुरुङ र केन्द्रीय सदस्य प्रदीप पौडेल आयोग पुगेर आयुक्तहरूसँग छलफल गर्दै मतगणना सुरु गर्न माग गरेका हुन्।
स्याङ्जा र बाजुरामा मतगणना सुरु गर्न आयोगको ध्यानाकर्षण गरिएको नेता पौडेलले जानकारी दिए। उनले मतगणना नगरेर आयोगले कमजोरी देखाएको आरोप लगाए।
‘विविवत रूपमा मतदान भएको छ भनेर दलका प्रतिनिधिहरूले मुचुल्का गरेका छन्। तर ती मतपेटिकाको मत गणना भएको छैन,’ उनले भने, ‘आयोगबाट अनधिकृत समिति बनाएर अर्कै खेल खेल्न खोजिएको त होइन भनेर हामीले ध्यानाकर्षण गराएका छौँ।’