नेत्रहीन टी-२० विश्वकप : नेपाल भारतसँग भिड्ने « प्रशासन
Logo ३२ जेष्ठ २०८१, शुक्रबार
   

नेत्रहीन टी-२० विश्वकप : नेपाल भारतसँग भिड्ने


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । आगामी डिसेम्बर ४ देखि १७ (मंसिर ५ देखि १९ सम्म) भारतमा आयोजना हुने नेत्रहीन टी-२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।

क्रिकेट एसोसिएसन फर ब्लाइन्ड इन इन्डियाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले डिसेम्बर ६ मा पहिलो खेल खेल्नेछ । उक्त खेल हरियानास्थित फरियावादमा हुनेछ ।

नेत्रहीन टी-२० विश्वकपमा नेपाल र भारतसँगै अस्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश गरी कूल ७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलअघि डिसेम्बर ५ मा दिल्लीको गुरगाउँमा विश्वकपको उद्घाटन हुनेछ भने फाइनल डिसेम्बर १७ मा बेंगलोरमा हुनेछ ।

सिङ्गल राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । जहाँ लिगको शीर्ष स्थानमा रहने टिम र चौथो हुने टिमबिच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र तेस्रो हुने टिमबिच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

नेपाल नेत्रहीन क्रिकेट सङ्घले यसअघि विश्वकपमा लागि खिमानन्द गैरेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।नेत्रहीन टी-२० विश्वकपमा सहभागी हुन १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आउने आइतबार भारत प्रस्थान गर्नेछ ।

नेपालले यसअघि भएको २०१२ र २०१७ मा नेत्रहीन टी-२० विश्वकप खेलिसकेको छ भने २०१८ मा नेत्रहीन एक दिवसीय विश्वकप समेत खेलेको थियो । तेस्रो पटक हुन लागेको नेत्रहीन टी-२० विश्वकपको ब्रान्ड एम्बासडरमा भारतीय क्रिकेट टिमका पूर्व अलराउण्डर युवराज सिंह छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस