अझै किसानले मल पाएनन् « प्रशासन
Logo २१ माघ २०७९, शनिबार
   

अझै किसानले मल पाएनन्


१३ मंसिर २०७९, मंगलबार


भजनी । कैलालीको टीकापुर नगरपालिका-६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बसेका थिए ।

हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उनी मलका लागि लाइनमा बसेका हुन्। किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो ।

‘खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ । सहजरूपमा मल नपाउँदा समयमा खेती गर्न सकिएको छैन’, उनले भने, ‘बजारमा मल पाइँदैन । सहकारीहरूले पनि आफ्ना सेयर सदस्यलाई मात्रै मल उपलब्ध गराउँछन् । मल नहालेर उब्जनी हुँदैन ।’ सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छाडेका छन् । उनले मल नपाएपछि गहुँ छर्ने काम हुन नसकेको बताउछन् ।

‘खेत जोतेको हप्ता दिनभन्दा बढी भइसक्यो । मल नपाएर गहुँ छर्न पाएको छैन’, उनले भने, ‘बर्सेनिको समस्या मल अभावको कहिल्यै समाधान हुन सकेन । यस्तो भए खेती गर्ने जाँगर पनि लाग्दैन ।’ भजनी नगरपालिका–६ का सुरेश कठरिया खेतीपाती सकेर कमाउनका लागि बाहिर जाने तयारीमा छन् । हिउँदे खेती लगाइसकेपछि चार–पाँच महिना घरमा खाली बस्नुपर्ने भन्दै त्यो समयमा ज्याला मजदुरी गरेर घरको अन्य खर्च टार्नका लागि कमाउन जाने तयारीमा रहेका सुरेशलाई मल नपाउँदा समस्या भएको छ । उनले १५ बिघा क्षेत्रफलमा खेती गर्दै आएकामा जसोतसो पाँच बिघा मात्रै गहुँ छर्न सफल भएको बताए ।

‘समयमै मल पाएको भए सबै खेतमा गहुँ छरिसकिन्थ्यो । मल नहालेर गहुँ छरेभन्दा नछरेजस्तै हो’, उनले भने, ‘मल नपाउँदा यता खेती पनि समयमा लगाउन सकिएन भने उता कमाउन जाने भनेको ठाउँमा पनि जान सकिएको छैन ।’भजनीका गणेश साउदको समस्या पनि उस्तै छ । उनले हिउँदे बाली लगाइसकेका छन्, तर निकै मेहनत गरेर । स्थानीय बजारमा रासायनिक मल नपाएपछि निकै कष्टका साथ छिमेकी बजार भारतबाट मल ल्याएर खेती लगाउनुपरेको उनको भनाइ छ ।

‘स्थानीय बजारमा मल पाइएन । मल भएका सहकारीले हामीलाई मल दिएन’, उनले भने,’नभन्नुपर्ने कुरा हो तर लुकीचोरी भारतबाट मल ल्याएर खेती लगाउनुपर्ने बाध्यता भयो ।’ स्थानीय बजारमा रासायनिक मलको चरम अभाव छ । मल खरिदका लागि अख्तियारी पाएका सहकारीले माग भएअनुसारका मल खरिद गर्न पाएका छैनन् । मुख्य आपूर्तिकर्ताको रूपमा रहेका कृषि सहकारीमा दैनिक किसान सहकारी धाउने गरेका छन् ।

बर्दियाको राजापुरका भीमबहादुर चौधरी मल पाइन्छ भनेर कैलालीको जानकी गाउँपालिका–४ मा रहेको बिजवृद्धि कृषक सहकारी संस्थामा पुगे । सहकारीमा मल नपाएपछि उनी रित्तो हात फर्किनुपरेको बताउछन् । ‘कताकता मल पाइन्छ भन्ने खबर सुनेपछि मलका लागि यहाँ आएका हौँ, यता पनि मल रहेनछ’, उनले भने, ‘बर्दियामा मल नपाउँदा कैलाली पुगियो तर पनि मल पाइएन, अब खेती कसरी लगाउने ?’

बिजवृद्धि कृषक सहकारी संस्थाले बीउ उत्पादनको काम गर्छ भने रासायनिक मल खरिद बिक्रीको काम पनि गर्दै आएको छ । अन्य कृषि सहकारीको भन्दा बढी मात्रामा मल बिक्री गर्दै आएको सहकारीले पनि माग भएबमोजिम मल नपाउँदा किसानलाई रित्तै फर्काउनुपरेको बताएको छ । सहकारीका व्यवस्थापन गोविन्दराज रावतले बिजवृद्धिका लागि बीउ उत्पादन गर्ने किसानलाई नै मल पुर्‍याउन नसकिएको बताए । ‘मलको निकै अभाव छ, त्यसमा पनि डिएपी मल पाइँदैन’, उनले भने, ‘मल नपाएका कारण खेती गर्ने समय बित्दै गएको छ । किसान मलको खोजीमा दौडधुप गर्दैछन् ।’

टीकापुर नगरपालिका–८ मा रहेको धनसिंहपुर कृषि सहकारी संस्थाले पनि किसानको माग अत्यधिक भएका कारण मलको आपूर्ति गर्न नसकेको जनाएको छ । संस्थाका अध्यक्ष धनसिंह साउदले भने,’मल विक्रेता डिपोले ५०-६० कट्टा मल दिन्छ । एउटै किसानलाई १०-१२ कट्टा मल चाहिएको हुन्छ । कसरी पुर्‍याउन सकिन्छ यस्तो अवस्थामा ?’

Tags :
प्रतिक्रिया दिनुहोस