काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान सकिएको छ।
थाइल्यान्डको एरो थाइ कम्पनीको जहाजले मंसिर ५ गतेदेखि ११ गते (२१ नोभेम्बर–२७ नोभेम्बर) सम्म विमानस्थलमा क्यालिब्रेसन उडान गरेको थियो। विमानस्थलको यान्त्रिक परीक्षणमा ४ वटा प्रविधि तथा उपकरणको परीक्षण गरिएको विमानस्थलले जनाएको छ।
एक साताको अवधिमा विमानस्थलको डिभिओर, आइएलएस, डिएमआई र पिएपिआइको मुख्य परीक्षण भएको बताइएको छ ।
सात दिनको क्यालिब्रेसन उडानका क्रममा उक्त विमानमार्फत विमानस्थलमा जडान गरिएका सञ्चार, ग्राउन्ड सिस्टम, टावर, रेडियो फ्रिक्वेन्सी, नेभिगेसन, सर्भिलेन्स, कम्युनिकेसन, कन्ट्रोल टावरलगायतका उपकरणको अवस्था कस्तो छ र तिनीहरूले काम गरेर नगरेको जाँच गरिएको छ।
क्यालिब्रेसन उडान सकिएसँगै अबको केही दिनमा एरो थाइले प्रतिवेदन बुझाउनेछ। सोही प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिने भएको छ । कम्पनीले बढीमा दुई सातामा प्रतिवेदन पेस गर्ने बताएको छ।
सरकारले १ जनवरी २०२३ (पुस १७) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ।