नागरिकता विवादमा रवि लामिछानेले दिए स्पष्टीकरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नागरिकता विवादमा रवि लामिछानेले दिए स्पष्टीकरण


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो नागरिकता सम्बन्धमा दिएको स्पष्टीकरण निर्वाचन आयोगमा आइपुगेको छ।

जिल्ला निर्वाचन कार्यालय चितवनका मुख्य निर्वाचन अधिकृत हृतेन्द्र थापाले लामिछानेको स्पष्टीकरण आयोगमा पठाएका हुन् । मङ्गलवार प्राप्त भएको स्पष्टीकरण खामको सिलबन्दी नै नखोली आयोगको केन्द्रीय कार्यालयमा पठाएको जानकारी थापाले दिए।

दोहोरो नागरिकता रहेको आरोप लागेपछि निर्वाचन कार्यालयले लामिछानेसँग स्पष्टीकरण माग गरेको थियो । लामिछानेले मङ्गलवार जिल्ला निर्वाचन कार्यालय चितवनमा स्पष्टीकरण दिएका थिए । उनीमाथि अमेरिका र नेपालको नागरिकता लिएको आरोप थियो ।

स्रोतका अनुसार लामिछानेले आफूले अमेरिकी नागरिकता त्याग गरिसकेको र नेपाली नागरिकता तथा राहदानी नै रहेको स्पष्टीकरणमा उल्लेख गरेका छन् । उनले आफूसँग दोहोरो नागरिकता नभएको स्पष्टीकरण पनि आयोगलाई बुझाएका छन्।

उक्त स्पष्टीकरणपछि आयोगले नागरिकता विवादसम्बन्धी थप कारबाही अगाडि बढाउनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस