काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भइरहेको निर्वाचनबाट पार्टीले बहुमत ल्याउने बताएका छन्।
भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय भक्तपुर मतदान केन्द्रबाट मतदान गरेपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा ओलीले यस्तो बताएका हुन्। उनले जनताले आफ्नो भाग्य र भविष्य निर्धारण गर्ने चुनावको महत्त्व घटाउने प्रयास भइरहेको पनि बताएका छन्।
उनले भने, ‘चुनावको महत्त्व घटाउन विभिन्न शक्ति लागेका छन्। युवाहरूलाई आवेगमा ल्याउने काममा लागिरहेका छन् । ती सबै कुरालाई सचेत नेपाली जनताले पराजित गरेका छन्।’ उनले रौतहटसहितका केही जिल्लामा हिंसात्मक गतिविधि भएको पनि बताए। सत्ता गठबन्धन एमालेका कार्यकर्तामाथि आक्रमण गरिरहेको पनि उनले बताए।
उनले भने, ‘रौतहटमा झडप भएको सुनेको छु। रोल्पामा हाम्रो उपसचिवलाई हातपात भएको छ। चितवनको घटना आएको छ । जहाँ विप्लवका कार्यकर्ताले मतपेटिका जलाउन खोजेका छन् । अप्रिय कुरा आइरहे पनि आमरुपमा राम्रो भएको छ। शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न हुन्छ। जनताको सजगताले एउटा सन्देश दिएको छ।’
उनले आगामी मंसिर १५ भित्र एमालेको बहुमतको सरकार बन्ने बताए। ओलीले भने, ‘हाम्रो बहुमतको सरकार बन्छ। मंसिरभरी पनि लाग्दैन । सरकार बन्छ, हाम्रो सरकार बन्ने भएपछि गठबन्धन गर्नुपर्दैन। तर हामीसँग सहकार्य गरिरहेकालाई सरकारमा ल्याउँछौँ।’