पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुने  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुने 


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । मंसिर तेस्रो सातादेखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७९ हुने भएको छ। ‘लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ मंसिर १६ देखि २५ सम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा व्यापार मेला आयोजना गरिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत् आयोजकले जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोग एवम् लक्ष्मी ग्रुपको मुख्य प्रायोजनमा मेला हुन लागेको हो।

मेलामा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधिहरूको प्रदर्शनीका साथै दैनिक उपभोग्य घरायसी सामान, लत्ताकपडा, शृङ्गारका सामानहरूको विक्री वितरण र मनोरञ्जनात्मक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ।

मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य सङ्घको मेला समितिका सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २५१ सदस्यीय मूल आयोजक समिति र पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिको संयोजकत्वमा कार्यसम्पादन समितिसँगै विभिन्न २५ वटा उपसमितिहरू गठन गरिएको सङ्घ पोखराका महासचिव बलराम आर्चायले जानकारी दिए। उनका अनुसार डोमतर्फ ७८, अटोतर्फ ४५ र अन्य १२० गरी २५० स्टल रहने मेलाको स्टल बुकिङको काम भइरहेको छ।

८५ लाख खर्च हुने मेलाबाट एक करोड आम्दानी र १५ लाख बचत गर्ने अनुमान आयोजकको रहेको छ । बचत रकम उद्यमशीलता प्रवर्द्धन तथा व्यवसायीहरूको क्षमता अभिवृद्धिको लागि खर्च गरिने आयोजकको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस