काठमाडौँ । आइतबार (मंसिर ४) हुने आम चुनावमा केही उम्मेदवारले आफैँलाई मत दिन नपाउने भएका छन्। मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा बाहिर रहेकाले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले मत दिन नपाउने भएका हुन्।
झापा-५ मा उम्मेदवार रहेका ओलीले आफूलाई मतदान गर्न पाउँदैनन् । उनको मतदाता नामावली भक्तपुर-२ मा रहेकाले उनले आफैँलाई मतदान गर्न नपाउने भएका हुन। चितवनबाट गोरखा-२ गएका प्रचण्डले पनि आफैँलाई मतदान गर्न नपाउने भएका हुन । उनको मतदाता नामावली उनी यसअघि निर्वाचित भएको क्षेत्र चितवन-३ मा रहेको छ ।
पूर्व सभामुख ओनसरी घर्तीले पनि आफूलाई मतदान गर्न नपाउने भएकी हुन। काठमाडौँ-२ मा उम्मेदवार रहेकी घर्तीको मतदाता नामावली रोल्पामा छ । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि आफूलाई मत दिन नपाउने भएका छन् । झापा-३ बाट उम्मेदवार रहेका सिटौलाको मतदाता नामावली भने झापा-१ मा छ ।
नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पनि आफूलाई मत दिन पाउने छैनन्। मोरङ-६ मा उम्मेदवार रहेका उनको नामावली भने मोरङ-४ मा छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि आफूलाई मत दिन पाउने छैनन् । केसी बाग्लुङ-१ उम्मेदवार छन् भने उनको मतदाता नामावली रुपन्देहीमा छ।
जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई मत दिन पाउने छैनन्। सप्तरी-२ मा उम्मेदवार रहेका यादवको मतदाता नामावली भने मोरङ-५ मा छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि आफूलाई मत दिन पाउने छैनन् । महोत्तरी-३ बाट उम्मेदवारी दिएका ठाकुरको नामावली सर्लाही-१ मा छ।
त्यस्तै काँग्रेस महालक्ष्मी उपाध्यक्ष डिना, प्रदीप पौडेल, मोहन बस्नेत लगायतले पनि आफूलाई मत दिन नपाउने भएका हुन । डीना मकवानपुर-१ बाट उम्मेदवार छिन् भने उनको मतदाता नामावली मकवानपुर–२मा छ । काठमाडौँ-५ मा उम्मेदवार रहेका पौडेलको नामावली तनहुँ-२ मा छ । यसपटक सिन्धुपाल्चोक-२ बाट उम्मेदवार बनेका बस्नेतको नामावली सिन्धुपाल्चोक-१ मा छ ।
माओवादी नेताहरू देवेन्द्र पौडेल र कल्पना धमलाले पनि आफूलाई मत दिन नपाउने भएका छन् । पौडेल बाग्लुङ-२ बाट उम्मेदवार छन् भने उनको नामावली बाग्लुङ-१ मा छ । काठमाडौँ-९ कि उम्मेदवार धमलाको नामावली धादिङ-१ मा छ।
एकीकृत समाजवादीका नेता विरोध खतिवडाले पनि आफूलाई मत दिन नपाउने भएका हुन । मकवानपुर-२मा उम्मेदवार रहेका उनको नामावली भने मकवानपुर-१ मा रहेको छ ।
त्यस्तै लोकतान्त्रिक समाजवादीका नेता लक्ष्मणलाल कर्णले पनि आफूलाई मत दिन पाउने छैनन् । पर्सा-१ मा उम्मेदवार रहेका उनको नामावली भने पर्सा-४ मा छ । उनी यसअघि पनि पर्सा-४ बाटै निर्वाचित भएका थिए।
एमाले नेता अग्नि खरेलले पनि आफूलाई मत दिन पाउने छैनन् । झापा-१ मा उम्मेदवार रहेका उनको नामावली भने झापा-२ मा रहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले पनि आफूलाई मत दिन पाउने छैनन् । चितवन-२ का उम्मेदवार रहेका उनको नामावली भने काठमाडौँ-६ मा रहेको छ।