१० हजार नक्कली मतपत्र, २५० थान स्वस्तिक छापसहित दुईजना पक्राउ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

१० हजार नक्कली मतपत्र, २५० थान स्वस्तिक छापसहित दुईजना पक्राउ


२ मंसिर २०७९, शुक्रबार


वीरगन्ज । वीरगन्जबाट १० हजार नक्कली मतपत्र र नगदसहित दुई जना पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी पक्राउ परेका हुन् ।

बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारमा कलैयाबाट वीरगञ्ज आउँदै गर्दा उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट वीरगञ्जका सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति कारमा चेकजाँच गर्ने क्रममा नक्कली मतपत्र र नगद बरामद गरेको थियो ।

कलैयातर्फबाट आइरहेको कारलाई वीरगञ्ज बसपार्क इलाकामा चेकजाँच गर्ने क्रममा १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप, ४८ थान स्ट्याम्प प्याड र नगद २ लाख ७२ हजार बरामद भएको सशस्त्र प्रहरी बल नम्बर १३ हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिए ।

करिब ३ सय जति नक्कली मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ ।

नक्कली मतपत्र र नगदसहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस