काठमाडौँ । निर्वाचन आयोगले आउँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावबारे नेपालमा रहेका कूटनीतिक नियोगहरूलाई जानकारी गराएको छ ।
आयोगले सोमबार नेपालमा रहेका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई चुनावबारे जानकारी गराएको हो । आयोगको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढङ्गले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको र आवश्यक तयारी पूरा भएको जानकारी गराएका हुन् ।
उनले चुनावलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि साथ र सहयोगको अपेक्षा गरेको बताए ।
आयोगका उपसचिव कमल भट्टराईले चुनावका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, चुनाव अनुगमन गर्ने संस्था तथा पर्यवेक्षकहरूको बारेमा विस्तृत जानकारी गराएका थिए । उनले चुनावमा मतदानपछि सुरक्षा संवेदनशीलताको दृष्टिले महत्त्वपूर्ण मानिएको मतपेटिका सुरक्षाको लागि सुरक्षा निकायको ३ घेरा कायम हुने गरी व्यवस्था मिलाइएको जानकारी दिए।
भट्टराईले ३ वटा अन्तर्राष्ट्रिय संस्था, ४४ वटा राष्ट्रिय संस्थालाई चुनाव अनुगमनको अधिकार प्रदान गरिएको र चुनावमा ८ हजार पर्यवेक्षक परिचालन गरिएको बताए ।