दिपायल । डोटीमा आएको भूकम्पले घर भत्काउँदा पूर्वी चौकी गाउँपालिका-३ गैरा गाउँमा घाइते भएका दुई जनालाई धनगढी रेफर गरेको छ ।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि पूर्वी चौकी-३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो ।
डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन श्रेष्ठले चनाको छातीमा हावा जमेको, चार वटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ । उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो ।
घाँटीका हड्डी भाँचिएकाले उनको सिटी स्क्यान गर्नुपर्ने अवस्था रहेको डा. श्रेष्ठले बताए । यस्तै बिष्नाको हात भाँचिएको छ । अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ ।







