काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बैतडीले मदिरा विक्री वितरण, ओसार-पसार तथा सेवन गर्न निषेध गरेको छ ।
आगामी मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै कार्त्तिक २० गते देखी अन्तिम मत परिणाम सार्वजनिक नहुन्जेल सम्म मदिरा विक्री वितरण, ओसार-पसार तथा सेवन गर्न निषेध गरेको हो ।
निर्वाचनलाई सभ्य-भव्य, भयरहित र निष्पक्ष रूपमा सू-सम्पन्न गर्न मदिरा विक्री वितरण, ओसार पसार तथा सेवन गर्न पुर्णरुपमा निषेध गरिएको बैतडी प्रशासनले एक सूचनामार्फत जानकारी गराएको छ ।
साथै सूचनाको अवज्ञा गर्ने गराउनेलाई कानुन बमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।
यस्तै सोही निर्णयको पुर्णपालना गर्न जिल्लाको पाटन नगरपालिका वडा नम्बर ८ ले पनि सम्पूर्ण व्यवसायी तथा आम नागरिकलाई सचेत तथा सू-सूचित गराएको छ ।
वडाध्यक्ष हरिस विष्टद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘जिल्ला प्रशासनको सूचना अनुसार आचार संहिता पालनासहित निर्वाचनलाई सभ्य-भव्य, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम सार्वजनिक नहुँदा सम्म मदिरा विक्री वितरण, ओसार पसार तथा सेवन गर्न पुर्णरुपमा निषेध गरिएको छ, साथै सूचनाको अवज्ञा गर्ने-गराउनेलाई कानुन बमोजिम कारबाही गरिने छ।’

