काठमाडौँ-४ : गगन थापा र डा.राजन भट्टराईबीच रोचक प्रतिस्पर्धा, यस्तो छ अङ्कगणित « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

काठमाडौँ-४ : गगन थापा र डा.राजन भट्टराईबीच रोचक प्रतिस्पर्धा, यस्तो छ अङ्कगणित


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । विसं २०७४ को निर्वाचन प्रतिस्पर्धी नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र एमालेका प्रभावशाली नेता डा.राजन भट्टराई यस पटक पनि चुनावी मैदानमा छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 

विसं २०७४ को निर्वाचनमा थापाले भट्टराईलाई पराजित गरेका थिए । गत निर्वाचनमा विजयी थापाले २१ हजार पाँच सय ५८ मत प्राप्त गरेका थिए । त्यतिबेला भट्टराईलाई वाम गठबन्धन (एमाले-माओवादी) को समर्थन थियो । तर, यस पटक भने एमाले एक्लै चुनावीमा मैदानमा छ । थापालाई सत्ता गठबन्धनको समर्थन रहेको छ ।

वाम गठबन्धन हुँदा समेत भट्टराईलाई तीन हजार मतको अन्तरले पराजित गरेका थापाले यस पटक पनि दुवैको कडा प्रतिस्पर्धा हुने देखिएको छ । गत वैशाखमा भएको स्थानीय तहको मत परिणामलाई केलाउँदा पनि सो क्षेत्रमा गठबन्धन बलियो देखिएको छ । उक्त क्षेत्रमा कूल १२ वडामध्ये एमाले नौ र काँग्रेस तीन वडामा विजयी भएको छ ।

सो क्षेत्रमा एमालेले काठमाडौँ महानगरपालिकाको १ र बुढानीलकण्ठ नगरपालिकाका आठ वडा क्रमशः १,२,८,९,१०,११,१२ र १३ मा जित हासिल गरेको छ । काँग्रेसले काठमाडौँ महानगरका ७, ८ र ३० वडामा जित हासिल गरेको छ । स्थानीय तहको निर्वाचनमा १२ वडामा एमालेका वडाध्यक्षले १६ हजार पाँच सय सात मत प्राप्त गरेका थिए । यस्तै नेपाली काँग्रेसका वडाध्यक्षले १५ हजार सात सय ६३ मत प्राप्त गरेका थिए ।

त्यस्तै, एकीकृत समाजवादीका वडाध्यक्षले दुई हजार चार सय १४ र माओवादी केन्द्रले आठ सय २८ मत प्राप्त गरेका थिए । वडाध्यक्षले पाएको मतका आधारमा सत्ता गठबन्धन एमाले भन्दा दुई हजार एक सय ९८ मतले अगाडि छ । सो क्षेत्रमा काँग्रेसका थापा र एमालेका भट्टराईसहित हाम्रो नेपाली पार्टीबाट अर्चन शम्शेर राणा, एकीकृत शक्ति नेपालबाट नवराज भण्डारी, आमूल परिवर्तन मसिहा पार्टीबाट ध्रुवराज गिरी, नेपाल मजदुर किसान पार्टीबाट रमेश डङ्गोललगायतको उम्मेदवारी रहेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौँ क्षेत्र नं ४ मा ३३ मतदानस्थल र ८२ मतदान केन्द्र निर्धारण गरिएको छ । सो क्षेत्रमा ६९ हजार सात सय ५२ मतदाताको संख्या रहेको छ । तीमध्ये ३३ हजार चार सय ७४ पुरुष र ३६ हजार दुई सय ७७ महिला छन् । अन्य मतदाताको संख्या एक रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस