समृद्ध नेपालको सपना देखेका २६ वर्षीय युवा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

समृद्ध नेपालको सपना देखेका २६ वर्षीय युवा


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । यति बेला देश चुनावमय बनेको छ । विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उमेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । आफ्नो पक्षमा मत माग्न घरदैलो अभियानमा पनि जुटेका छन् ।

यस पटकको चुनावमा २५ वर्षीय युवासँगै एक सय वर्षका वृद्ध मैदानमा छन् । विगतका चुनावमा भन्दा यस पटक स्वतन्त्र उम्मेदवार धेरै छन् । यिनै स्वतन्त्र मध्येका एक हुन् काठमाडौँ क्षेत्र नं. ५ प्रदेश सभा (क)का उम्मेदवार सस्मित पोखरेल । 

समृद्ध मुलुकको सपना देखेका २६ वर्षीय पोखरेल विगत करिब ८ वर्षदेखि वैकल्पिक राजनीतिमा सक्रिय छन् । विदेश अध्ययन गएका धेरै युवा उतै पलायन भइरहेको अवस्थामा उनले अमेरिकाबाट प्रारम्भिक शिक्षा हासिल गरी नेपाल फर्किएका हुन् । नवीन सोच, ऊर्जा र सम्भावना रहेको युवाले देश विकास र निर्माणमा कस्तो योगदान गर्न सक्छ भने उदाहरण बन्नकै लागि नेपाल फर्किएको उनी बताउँछन् । 

अमेरिकामा पढ्दा पनि उनी नेपाली राजनीतिबारे उनी चासो राख्दथे । जति बेला नेपालमा दोस्रो संविधान सभाको चुनाव भएको थियो । त्यति बेला नै उनलाई नेपालमा आएर राजनीति गर्ने इच्छा पलाएको थियो । सोही इच्छा पुरा गर्न उनी अहिले राजनीतिमा होमिएका छन् ।

नागरिकको जीवनस्तर बदल्नका लागि नागरिक जागरण र सार्वजनिक सेवा सुधारका विभिन्न आन्दोलनमा पनि उनी सहभागी भएका छन् । आन्दोलनमा सहभागी भएर मात्रै नहुने बुझेका पोखरेल नीति र कानुन नै बनाएर नागरिकको जीवनस्तरमा सुधार ल्याउने उनको मन छ । काठमाडौँ विश्वविद्यालयबाट कानुन र व्यवस्थापनमा स्नातक तहको अध्ययन गरेका पोखरेलले प्रदेश सांसदको सचिवालयमा कानुन विभागको संयोजक भई कानुन निर्माण र संशोधनका विषयमा कार्य अनुभव गरेका छन् । उनलाई लाग्छ यो आफ्नो अनुभव भोलिका दिनमा व्यवहारमै लागू गर्नका लागि नीति निर्माण तहमा पुग्न जरुरी छ । 

नेपालमा भ्रष्टाचार व्याप्त रहेको अवस्थामा उनले भ्रष्टाचारमा शून्य सहनशीलता कायम हुने गरी प्रादेशिक कानुन निर्माण गर्नुपर्ने रणनीतिक योजना आफूसँग रहेको उनको भनाइ छ । उनले आफ्नो रणनीतिक योजनाहरूमा गुणस्तरीय स्वास्थ्य सेवा, वित्तीय श्रोत अनुकूलको सामाजिक सुरक्षा, खानेपानी, सरसफाइ, रुद्रमती पुनर्जागरण जस्ता कार्यक्रमलाई प्रवर्धन गर्ने उल्लेख गरेका छन् । 

त्यसो त लामो विरासत बोकेका राजनीतिक दलका उम्मेदवार उनीसँग चुनावी मैदानमा छन् । उनीहरूलाई पराजित गर्न त्यति सहज छैन । तर, अहिले काठमाडौँका शिक्षित मतदाताले विरासत बोकेका र उमेर पुगेका नेता भन्दा पनि स्वतन्त्र, सक्षम र युवा नेतृत्व चाहेकोले यी तीनै गुण आफूमा भएको उनी बताउँछन् । उनका अनुसार चुनाव प्रचारका क्रममा मतदाता र सामाजिक सञ्जालबाट प्राप्त सकारात्मक प्रतिक्रियाले थप हौसला मिलेको छ । 

सुशासन, पारदर्शिता, इमानदारी, उत्कृष्टता र र पद्धतिमा आधारित नमुना प्रदेश बनाउने उनको सोच रहेको छ । जसरी अँध्यारोलाई चिर्न उज्यालोको खाँचो पर्छ त्यसै गरी देशमा रहेको अँध्यारोलाई हटाएर उज्यालो नेपाल बनाउने सपना पुरा गर्न उनले लालटिन चुनाव चिन्ह रोजेका छन् ।  उनले रोजेको लालटिनले उनको र नेपालीको मुहारमा उज्यालो पुर्‍याउन सक्छ सक्दैन त्यो त मसिंर ४ पछि नै थाहा लाग्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस