लसएन्जेलस । अमेरिकी वरिष्ठ राजनीतिज्ञ न्यान्सी पेलोसीका पतिलाई मुङ्ग्रोले आक्रमण गर्ने व्यक्तिलाई सान फ्रान्सिस्कोको एक अदालतमा उपस्थित गराइने भएको छ । डेविड डिपेप नामक ती व्यक्तिविरुद्ध हत्या प्रयास र घातक हतियारले हमला गरेको अभियोग लगाइएको छ ।
४२ वर्षीय डिपेप गत शुक्रबार बिहान पेलोसीको घरभित्र विना अनुमति प्रवेश गरेका थिए । अमेरिकी राष्ट्रपतिको दोस्रो पङ्क्तिमा रहेकी पेलोसी पतिमाथि आक्रमण भएका बेला मुलुकको अन्य स्थानमा थिइन् ।
फुटेको खोपडीको सफल शल्यक्रिया र पाखुराका चोटको उपचार पछि ८२ वर्षीय पावल पेलोसी अहिले आराम गरिरहेका छन् । मङ्गलवार डिपेपले सामना गर्ने अभियोगहरू क्यालिफोर्निया राज्यले दायर गरेको हो । तर उनले शारीरिक आक्रमण गरेको र न्यान्सी पेलोसीलाई अपहरण गर्न खोजेको जस्ता संघीय अभियोग पनि सामना गर्नुपर्ने छ । तर पछिल्ला अभियोगका लागि अदालतको मिति भने अझै तोकिएको छैन ।
अदालतको दस्ताबेजअनुसार उनले न्यान्सीलाई बन्धक बनाउने योजना बनाएका थिए । यदि न्यान्सीले झुठो बोलेमा उनको घुँडाको चक्का नै भाँच्ने मनसाय उनले राखेका थिए ।