भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न निगम तयार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न निगम तयार


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ–दिल्ली रुटतर्फ सातामा चार वटा उडान रोकिएपछि नेपाल वायुसेवा निगम भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न तयार भएको छ ।

सोमबार पर्यटन मन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा पर्यटन सचिव, क्यान र निगमका उच्च अधिकारीबिच बसेको बैठकमा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी भैरहवाबाट उडान गर्न तयार भएका हुन् ।

पर्यटन मन्त्री श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानले निर्धारण गरेबमोजिम उडान गर्ने गरी निगमले उडान योजना यसै साताभित्र पेस गर्न निर्देशन दिएका छन् ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले मङ्गलवार भैरहवाबाट उडान गर्ने प्रतिबद्धता पत्र क्यानमा पेस गर्ने र एक साताभित्र व्यावसायिक योजना बुझाउने सहमति भएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

उडान तालिका पेस नगर्दासम्म अहिले स्वीकृत तालिकाअनुसार नै निगमले उडान गर्नेछ । क्यानले निगमको काठमाडौँ–दिल्ली उडान साताको १४ बाट घटाएर १० बनाइदिएको छ । ‘बैठकमा निगमले भैरहवा उड्ने प्रतिबद्धतासहित व्यावसायिक योजना पेस गरेपछि अहिले कटौती गरिएको उडान पुनः सुचारु गर्न दिने विषयमा क्यानका महानिर्देशकले निर्णय लिन सक्ने निर्णय भएको छ,’ सूचना अधिकारी भुलले भने ।

बैठकमा निगम प्रमुख अधिकारीले अनुमति नै नभएको उडानको टिकट काटेर गल्ती गरेको स्वीकार गरेको स्रोत बताउँछ । यस्तै, बैठकमा ग्राउन्ड ह्यान्डलिङ सेवालाई प्रतिस्पर्धी बनाउन अर्को कम्पनीलाई पनि भिराउने विषयमा गृहकार्य गर्न मन्त्रीले क्यान महानिर्देशक प्रदीप अधिकारीलाई आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस