बिजुली खपत र निर्यात बढाउन पूर्वाधार विस्तार गर्दै प्राधिकरण, के भन्छन् कुलमान घिसिङ ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बिजुली खपत र निर्यात बढाउन पूर्वाधार विस्तार गर्दै प्राधिकरण, के भन्छन् कुलमान घिसिङ ?


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत गराउन पूर्वाधारहरूको सुदृढीकरण र विस्तारका लागि अध्ययन थालेको छ । प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्न गर्नुपर्ने कामबारे स्थलगत रूपमै जानकारी लिन प्राधिकरणको उच्च व्यवस्थापन नै देश दौडाहमा हिँडेको छ ।

देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने प्राधिकरणले बताएको छ । विद्युत् खपत वृद्धिको सम्भावना रहेका प्रदेश नम्बर १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउने प्राधिकरणको दाबी छ ।

साथै, भारत र बङ्गलादेशमा विद्युत् निर्यातका लागि थप प्रसारण लाइन पूर्वाधारको निर्माण गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले मुलुकमा उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन अल्पकालीन, र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रूपमा चलाइरहेको छ । सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नति गर्ने प्राधिकरणको कार्यक्रम छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप-कार्यकारी मनोज सिलवाल, प्रसारण निर्देशनालयका उप-कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार विद्युत् खपत बढाउन तथा निर्यातका लागि सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन भ्रमण गरी जानकारी लिएको छ ।

टोलीले भारतको पश्चिम बंगालराज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावना, बङ्गलादेशतर्फ विद्युत् निर्यातका सबैभन्दा छोटो रुट, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थान लगायतको पहिचान गर्न स्थलगत अध्ययन गरेको छ । टोलीले सुनसरी, मोरङ र झापामा निर्माणाधीन र हाल सञ्चालनमा रहेका विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचनाका विषयमा पनि स्थलगत अध्ययन गरी जानकारी लिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती विस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँहरूलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्न लागिएको बताए ।

घिसिङ नेतृत्वको टोलीले पावर ग्रिड भारतको पश्चिम बङ्गलाको सिलिगुढीस्थित ४००/२२० केभी विनागुढी सबस्टेसनको भ्रमण गरी विद्युत् आयात निर्यातको जानकारी लिएको थियो । सबस्टेसनमा भुटानको ताला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ ।

प्राधिकरणको खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गर्ने र आन्तरिक रूपमा खपत गरी बढी भएको विद्युत् निर्यातका लागि ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस