कतार विश्वकपमा १३ राष्ट्रले सुरक्षा दिने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कतार विश्वकपमा १३ राष्ट्रले सुरक्षा दिने


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । कतारमा अर्को महिना फिफा विश्वकप फुटबल प्रतियोगिता हुँदै छ । विश्वकप २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुँदै छ ।

विश्वकपमा विभिन्न मुलुकबाट १२ लाख फुटबल समर्थक कतार पुग्ने अपेक्षा गरिएको छ । आयोजक कतारले विश्वकपमा आउने खेलाडीदेखि समर्थकहरूको सुरक्षा व्यवस्था अति कडा बनाउने योजना बनाइरहेको छ । कतार विश्वकपमा १३ राष्ट्रका सैनिकले सुरक्षा प्रदान गरिने भएको छ ।

गत साता पाकिस्तानको सैनिक टोली कतार पुगेको थियो । अल जजिरा टेलिभिजनले विश्वकपअगाडि कतारी सुरक्षा फौज, निजी सुरक्षा गार्ड र विदेशी सैनिकले आयोजनास्थलहरूमा सुरक्षा अभ्यास गरेको जनाएको छ । कतारले एक महिनासम्म खेलाडी, अधिकारी, समर्थकहरूको सुरक्षाका लागि १३ राष्ट्रसँग सम्झौता गरेको हो । टर्की र पाकिस्तानका सैनिकले आफ्नो कमान्ड सम्हालिसकेको अल जजिराले जनाएको छ ।

विश्वकपमा कतारका ३२ हजार सुरक्षाकर्मी र १७ हजार सिभिल ड्रेसका सैनिकले सुरक्षा प्रदान गर्नेछन् । फ्रान्स, बेलायत, अमेरिका, मोरक्को र जोर्डनलगायतले सैनिक पठाउने जनाएको छ । धेरैजसो राष्ट्रले कतारलाई सैनिक सहयोग गरेका छन् । केही राष्ट्रले तालिम, उपकरण र प्राविधिक मात्र सहयोग गरेका छन् ।

टर्कीबाट तीन हजार सैनिक
विश्वकपमा टर्कीबाट सर्वाधिक तीन हजार सैनिक आउनेछन् । टर्किस सैनिकले रङ्गशाला तथा होटेलको सुरक्षा जिम्मेवारी लिने टर्कीका विदेश मन्त्री सुलेमान सोयुले बताएका छन् । यसै गरी, ५० जना बम डिस्पोज गर्ने विशेषज्ञ पनि कतार पठाइने उनले बताए । टर्कीका विशेषज्ञहरूले ६ सय ७७ कतारी सुरक्षाकर्मीलाई विशेष
प्रशिक्षण दिनेछन् ।

पाकिस्तानी सैनिकले विश्वकप अवधिमा रङ्गशालादेखि विशिष्ट पाहुना बस्ने होटेलमा सुरक्षा प्रदान गर्नेछन् । पाकिस्तानको रेडियो पाकिस्तानले विश्वकपअगाडि थप सैनिक कतार पुग्ने जनाएको छ । यसै गरी, फ्रान्सको संसद्बाट विश्वकपमा दुई सय २७ सैनिक सहयोग गर्ने प्रस्ताव पास भएको छ । यससँगै फ्रान्सका सैनिकले पनि विश्वकपभरि नै सुरक्षा दिने भएका छन् । फ्रान्सेली सैनिक विशेष गरी आफ्ना खेलाडी तथा समर्थकमाथि केन्द्रित रहने फ्रेन्च विदेश मन्त्रीले जनाए ।

बेलायतले सहयोग गर्ने
गत महिना मोरक्कोका सैनिकले रङ्गशालाभित्र सुरक्षासम्बन्धी अभ्यास गरेका थिए । कतार न्युज एजेन्सीले मोरक्कोका सैनिकले क्वार्टर फाइनलदेखि फाइनलमा प्रयोग हुने रङ्गशालाको सुरक्षासम्बन्धी अभ्यास गरेको जनाएको छ । बेलायतले विश्वकपलाई सुरक्षित बनाउन सहयोग गर्ने जनाएको छ । विश्वकपमा हुन सक्ने दुर्घटनाबाट सुरक्षित बनाउन नै बेलायतले विशिष्ट सैनिक बल पठाउन लागेको बिबिसीले जनाएको छ ।

‘हामी चाहन्छौँ, कतारमा हुने विश्वकप सुरक्षित हुनुपर्छ,’ बेलायतका एक उच्च अधिकृतको भनाइ उद्धृत गर्दै बिबिसीले भन्यो, ‘विश्वकप हेर्न आउने र खेल्ने खेलाडीले सुरक्षाको अनुभूति पाउनुपर्छ, यसै कारण हामी पनि कतारलाई सहयोग गर्न लागेका हौँ ।’ यसैबीच, युएईमा रहेको अमेरिकी सैनिकले पनि बाहिरी रूपमा कतार विश्वकपको सुरक्षा प्रदान गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस