बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा 


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्लाका एक सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो ।

सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो । जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ ।

विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना निर्माण गरिरहेको छ । मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण भइरहेको हो । जिल्लाका १० स्थानीय तहमा रहेको मतदानस्थलको अनुगमन गरिएको छ ।

मतदान केन्द्र, मतदानस्थल, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको जनाएको छ । सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन स्थलगत अध्ययन र अनुगमनको कामसमेत भइरहेको छ ।

दश स्थानीय तह रहेको बैतडीमा दुई सय १० मतदान केन्द्र छन् । जिल्लामा एक लाख ५० हजार १५६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस