एकीकृत समाजवादीको घोषणापत्र भोलि सार्वजनिक हुँदै, के छन् प्रतिबद्धता ?   « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एकीकृत समाजवादीको घोषणापत्र भोलि सार्वजनिक हुँदै, के छन् प्रतिबद्धता ?  


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । महासचिव डा.बेदुराम भुसालले सोमबार अपराह्न चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

सो पार्टीको घोषणापत्र मस्यौदा समितिमा रहेका एक सदस्यका अनुसार नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ । 

निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने भनेपनि कस्तो निर्वाचन प्रणाली अवलम्बन गर्ने भन्ने सो पार्टीले स्पष्ट खुलाएको छैन । समाजवादीले आफ्नो घोषणापत्रमा शासकीय स्वरूपबारे पनि केही बोलेको छैन । जबकि सत्ता सहयात्री नेकपा माओवादीले भने निर्वाचन प्रणाली र शासकीय स्वरूप नै परिवर्तन गर्नुपर्ने आफ्नो घोषणापत्रमा समेट्ने बताउँदै आएको छ । त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिने गरी घोषणापत्र तयार गरेको सो पार्टीले पूर्व-पश्चिम महानहर निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । 

नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका नदीलाई जोड्दै पूर्व पश्चिम नहर निर्माण गर्ने विषय घोषणापत्रमा समेटिएको महासचिव भुसालले जानकारी दिए । उनले कृषि उत्पादन वृद्धि गर्न सिँचाइ आवश्यक रहेको र पूर्वपश्चिम महानर निर्माण गरेर सिँचाइ नपुगेका मधेसका अधिकांश क्षेत्रमा सिँचाइको व्यवस्था गर्न सकिने बताए । ‘सबै नदीहरूलाई जोड्ने गरी मधेस र पहाडको बीच भाग (चुरे)बाट पूर्वपश्चिम महानहर बनाएर सम्पूर्ण तराईमा सिँचाइ पुर्‍याउने योजना घोषणापत्रमा उल्लेख छ’, महासचिव भुसालले जनाकारी दिए । 

घोषणापत्रका विशेषतः निर्वाचन प्रणालीको परिवर्तन, योजना प्रणालीमा आमूल परिवर्तन, कृषि उत्पादन वृद्धिमा जोड, घरेलु उद्योग धन्दाको विकास, शिक्षा, स्वास्थ्यलाई मौलिक हकका रूपमा प्रयोगको वातावरण निर्माण, पर्यटनको विकास, सामाजिक सुरक्षाको दायरा बढाउने र असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्तमा आधारित रहनुपर्ने जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस