गठबन्धनको जीत सुनिश्चित छ, काँग्रेसको नेतृत्वलाई जनताले रुचाएका छन् : आरजु देउवा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

गठबन्धनको जीत सुनिश्चित छ, काँग्रेसको नेतृत्वलाई जनताले रुचाएका छन् : आरजु देउवा


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छन् । 

आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा.देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ-आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापीरुपमा आतुर रहेकाले जीत सुनिश्चित रहेको उनले बताइन् । 

वर्तमान सरकारले छोटै समयमा गरेका राम्रा कामका साथै काँग्रेसजस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै नेपाली जनताले रुचाएकाले पनि आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको उनले दाबी छ । काँग्रेसले अहिलेको गठबन्धनको टिमलाई नै लिएर निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनको आग्रह थियो । 

काँग्रेस नेतृ राणाले मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्नुपर्ने धारणा पनि राखिन् । नेतृ राणाले यो सरकार निर्माण भएको छोटो समयमै विकास निर्माणका साथै अरू धेरै काम भएका प्रसङ्ग पनि सो अवसरमा उल्लेख गरिन् । 

नेतृ राणा आइतबार छठ पर्वका अवसरमा पूजा एवं दर्शन गर्न जनकपुरधाम पुगेकी हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस