काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब मैदान उत्रिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले टस जितेर बलिङ रोज्दै एपीएफलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
आर्मी विनोद भण्डारीको कप्तानीमा खेल्दै छ भने एपीएफको नेतृत्व शरद भेषावकरले गरेका छन् । आर्मीका सोमपाल कामीसहित सोनु तामाङ र आकाश चन्द बेन्चमा छन् ।
विनोदसँगै राजेश पुलामी मगर, रोहित कुमार पौडेल, भीम सार्की, शरिबहादुर चौहान, कुशल मल्ल, अर्जुन साउद, सुशन भारी, शाहब आलम, विक्रम सोब र जितेन्द्र मुखिया पहिलो रोजाईमा खेल्दै छन् ।
यस्तै एपीएफको पहिलो रोजाइमा शरदसँगै कमल सिंह ऐरी, सुमित महर्जन, सन्दीप जोरा, अमर सिंह राउटेला, भुवन कार्की, प्रदीप ऐरी, लोकेश बहादुर बम, किशोर महतो र मौसम ढकाल छन् । आयुस्मान बम, दीपक बोहरा र पुरन विक बेन्चमा छन् ।
मूल पानी मैदानमा समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेशको खेल सुरु भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले यो समाचार तयार पार्दासम्म ४ ओभरमा विना क्षति ३० रन बनाएको छ ।