रानी पोखरीमा छठ मनाउन नपाइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रानी पोखरीमा छठ मनाउन नपाइने


११ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँको रानीपोखरीमा छठ मनाउन नपाइने भएको छ ।

पुनर्निर्माणका क्रममा रानी पोखरीमा तेस्रो चरणमा बनेका पूर्वाधार तथा संरचना हस्तान्तरण नभइसकेकोले काठमाडौं महानगरपालिकाले जोखिम लिन नचाहेको प्रवक्ता नवीन मानन्धरले बताए ।

उनका अनुसार पोखरी, पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर महानगरलाई हस्तान्तरण भइसके पनि पोखरीको किनारामा बनाइएका सालिकसहितको पार्क र बगैँचा महानगरमा हस्तान्तरण भइसकेको छैन ।

मन्दिर महानगरलाई हस्तान्तरण भएकै कारण हिजो भाइटिकाको दिन मन्दिर खुल्ला गरेर व्यवस्थापनको समन्वय महानगरले गरेको पनि उनले बताए ।

रानी पोखरीमा छठ मनाउन नदिएको भन्दै एक समूहले काठमाडौँ महानगरपालिकाको आलोचना गर्दै आएको छ । तर प्रवक्ता मानन्धरले रानी पोखरीमा छठ मनाउन भनेर नै मेयर बालेन साहसहितको बैठक बसेको र तयारी पनि गरिएको तर प्राविधिक समस्या देखिएको रानीपोखरी खुल्ला नगर्ने निर्णय गर्नु परेको बताए ।

कमल पोखरीसहित महानगरमा रहेका अरू पोखरी तथा खोला नदी किनारमा छठ मनाउन आवश्यक तयारी भइरहेको पनि उनले बताए । पुनर्निर्माण प्राधिकरणले रानी पोखरी पुनर्निर्माण गरे पनि त्यसको संरक्षकको जिम्मेवारी महानगरपालिकामा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस