बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली किन्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली किन्ने


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गरेको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले यो विषय जानकारी गराएका हुन् । 

सन् २०४० सम्म बङ्गलादेशले नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ ।

शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बङ्गलादेशमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यस अवसरमा राजदूत भण्डारीले पछिल्लो ५० वर्षमा सरकारी र दुई देशका जनता-जनताबीचको सम्बन्ध निरन्तर समृद्ध हुँदै गएको, एक अर्का देशबीचको सहकार्यका साथै असल छिमेकीको सम्बन्ध रहेको बताएका थिए ।

प्रधानमन्त्री हसिनाले नेपालको राजनीतिक र नागरिक समाजले बङ्गलादेशको स्वतन्त्रताका सङ्ग्राममा गरेको सहयोगको स्मरण गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताए । उनले दुई देशबीचको व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा रहेको सम्भावना र साझा सहकार्यका सम्बन्धमा चर्चा गर्दै ‘बीबीआइएन’ मार्फत विस्तारित सम्पर्क सञ्जालको महत्त्वमा जोड दिएका थिए ।

बङ्गलादेशी प्रधानमन्त्रीले राजदूत भण्डारीलाई आफ्नो सरकारको पूर्ण सहयोग रहने र सहकार्यसमेत हुने भन्दै सफल कार्यकालको कामना गरे । राजदूत भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको बङ्गलादेशमा रहेको नेपाली राजदूतावासले आज मङ्गलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस