काठमाडौँ । २ जेठ २०७९देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन घाटामा छ । हप्तामा तीन वटा उडान भइरहेपनि काठमाडौँबाट हुने आकस्मिक अवतरणका लागि भन्दै २४ घण्टा नै खुला राखिएको विमानस्थलको सुरक्षा सम्बद्ध आधुनिक उपकरण भने सञ्चालनमा छैनन् ।
विमानस्थलमा झण्डै एक अर्ब खर्चेर इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गरिएको छ । विमानस्थलमा कमजोर भिजिबिलिटी हुँदा पनि उडान(अवतरण गर्न सकियोस् भनेर आईएलएस जडान गरिएको थियो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणको लापरबाही र भारतीय पक्षको बेवास्ताका कारण आईएलएस भारत सरकारको अनुमतिबिना प्रयोग हुन नसक्ने अवस्था आएको छ ।
आईएलएस एक चुस्त रेडियो नेभिगेसन प्रणाली हो, जसले विमानहरूलाई रातमा वा खराब मौसममा रनवेमा ‘अप्रोच’ गर्न उपकरणबाटै मार्गदर्शन दिन्छ । यो प्रणाली जडानपछि करिब ५०० मिटरको मात्रै भिजिबिलिटीमा नै विमान अवतरण गर्न सकिन्छ ।
नेपालमा आईएलएस जोडिएको गौतमबुद्ध नै पहिलो विमानस्थल हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत भिजुअल फ्लाइट रुल्स (भीएफआर) अर्थात् तोकिएको ‘भिजिबिलिटी’ पुरा भएको अवस्थामा मात्रै विमान अवतरण हुने प्रणाली छ ।
गौतमबुद्ध विमानस्थलमा जडान गरिएको आईएलएसले खराब भिजिबिलिटीमा पनि रेडियो सङ्केतमार्फत अवतरणमा चालक दललाई ‘गाइड गर्छ । क्याटेगोरी अनुसार प्रणालीको कार्यदक्षता फरक छन् । प्राधिकरणले सुरुमा आईएलएसको क्याटेगोरी-१ (पुरानो) को उपकरण जोड्ने गरी डिजाइन गरेको थियो, जसको फ्रिक्वेन्सी नेपाली भूमिभित्र रहने निश्चित गरिएको थियो ।
तर, निर्माणका क्रममा आईएलएसको क्याटेगारी-२ (मध्यम दक्षताको) करिब ५० करोडभन्दा बढीका उपकरणहरू जोडिए । प्राधिकरणले क्याटेगारी-२ को मापदण्डअनुसार नै विमानस्थलको रन-वेमा लाइटिङ सिस्टमको पूर्वाधारमा थप करिब २५ करोड खर्च गरेको छ ।
यो उपकरणको रेडियो डेटा (फ्रिक्वेन्सी) प्रवाह हुने एंगल र कभरेज एरियाको केही भाग भारतीय भूभागमा पनि पर्यो । अब आईएलएस सञ्चालनको प्रोसिड्योरलाई नेपालसँगै भारत सरकारले पनि स्वीकृत गर्नुपर्छ । आईएलएस प्रयोगको अनुमति माग्दै नेपाल सरकारले ५ महिना अगाडि नै पत्राचार गरेको छ, तर भारतले कुनै जवाफ दिएको छैन । यदि भारतले प्रोसिड्योर स्वीकृत नगरेमा आईएलएसको प्रोसिड्योर अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आईकाओ)बाट स्वीकृत हुँदैन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारी भने स्वीकृत स्पेसिफिकेसन अनुसार नै उपकरण जडान गरिएको दाबी गर्छन् ।
आईएलएस प्रयोगका लागि जति ढिला भयो, ३२ अर्बभन्दा बढी लगानी गरेर बनाइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त्यति बढी घाटामा जाने देखिएको छ ।







