तिहारमा रातको ९ बजेसम्म मात्र देउसी भैलो खेल्न प्रहरीको अनुरोध « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

तिहारमा रातको ९ बजेसम्म मात्र देउसी भैलो खेल्न प्रहरीको अनुरोध


५ कार्तिक २०७९, शनिबार


काठमाडौँ । सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको ९ बजेसम्म मात्र देउसी भैलो खेल्न प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आज विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा मर्यादित एवं सभ्य तवरले रातको ९ बजेसम्म देउसी भैलो खेल्न अनुरोध गरेको हो ।

परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरे ।

परिसरले आफ्नो टोल छरछिमेकमा जुवातास खेलेमा वा पटाका पड्काए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को विस्फोटक पदार्थ (पटाका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुनसक्ने व्यवस्था रहेको छ ।

मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धूम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले काठमाडौँवासीलाई आग्रह गरेको छ ।

छतमा चढेर यात्रा नगर्न, सडकको दायाँबायाँ जथाभाबी पार्किङ नगर्न, ट्राफिक नियमको पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।

यात्रा गर्ने क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढकढक्याएमा नखोल्न, आफ्नो घर, छरछिमेक र टोलमा सिसी क्यामेरा जडान गर्न, लामो समय घरबाहिर जानुपरेमा विश्वासिलो छिमेकी र आफन्तलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

तिहार तथा छठ पर्वका लागि गाउँ जान लागेको तस्बिर तथा जानकारी सामाजिक सञ्जालमा पोस्ट नगर्न प्रहरीले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस