तुफानडाँडा जिप दुर्घटना : मष्टा गाउँ शोकमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तुफानडाँडा जिप दुर्घटना : मष्टा गाउँ शोकमा


३ कार्तिक २०७९, बिहिबार


बझाङ । जिप दुर्घटनामा परेर सात जनाले अकालमा ज्यान गुमाएपछि बझाङको मष्टामा शोकमा ढुबेको छ । सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो । मेलाबाट घर फर्किरहेका मष्टा गाउँपालिकाका यात्रु सवार जिप बुधबार दुर्घटनामा परेको थियो ।

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका-२, खेतकोट जाँदै गरेको सुपप्र ०१-००१ च ११७ नम्बरको जिप दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो । मष्टा-१ तुफानडाँडामा भएको जिप दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । उनका अनुसार १५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा मष्टा-२ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिता कठायत, ५० वर्षीया सिन्कीदेवी भण्डारी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा छन् । दुर्घटनामा घाइते १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते चार जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला अस्पताल सिमखेतले जानकारी दिएको छ ।

घाइते हुनेमा मष्टा-२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय वीरबहादुर खड्का, मष्ट-१ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, चार वर्षीया सिम्रन सिंह र २२ वर्षीया हेमन्ती सिंह छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस