काठमाडौँ । यसवर्ष साउनयता डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ४१ हजार ७४३ र मृतकको संख्या ४९ पुगेको हो ।
महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ । डेंगी संक्रमितको संख्या सन् २००४ यताकै उच्च हो ।
काठमाडौँ उपत्यकाका अधिकांशमा डेंगी संक्रमण भइसकेकाले अब उपत्यका बाहिरका केही जिल्लामा संक्रमितको संख्या उच्च हुनसक्ने वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।
उपत्यकाबाहिर गुल्मी, दार्चुला, सङ्खुवासभा, कास्कीलगायतका २६ जिल्लामा संक्रमितको संख्या एक समयभन्दा माथि छ । नवलपरासी, रौतहट, इलामलगायतका ११ जिल्लामा संक्रमित थपिँदै गएका छन् ।