अन्तिम चुनाव भन्दै सातौंपटक संसद् छिर्ने दाउमा गच्छदार, रोक्ने भगवतीको दाउ ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अन्तिम चुनाव भन्दै सातौंपटक संसद् छिर्ने दाउमा गच्छदार, रोक्ने भगवतीको दाउ !


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका छन् । विजयी भए उनी सातौंपटक प्रतिनिधि सभामा पुग्नेछन् । ‘राजनीतिक जीवनको सुखद विश्रामको लागि अन्तिम पटक उम्मेदवार बनेको’ भन्दै गच्छदारले आक्रामक चुनावी अभियान थालेका छन् ।

इतिहास हेर्ने हो भने २०४८ सालयताका अधिकांश चुनावमा अपराजित रहे । ६ वटा निर्वाचनमा उनले विजयको झण्डा गाडे ।

२०४८, २०५१, २०५६ र २०७४ गरी चारवटा निर्वाचन नेपाली काँग्रेसबाट जितेका थिए ।

२०६४ पहिलो संविधान सभा तत्कालीन मधेसी जनअधिकार फोरमबाट र २०७० को दोस्रो संविधान सभामा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट उठे । अहिले फोरम लोकतान्त्रिक काँग्रेसमा समाहित भइसकेको छ ।

विगतजस्तै सदाबहार रूपमा तेस्रो पटक गच्छदारसँग नेकपा एमालेकी भगवती चौधरी प्रतिस्पर्धामा छन् ।

२०७० र २०७४ को निर्वाचन उनी लगातार पराजित बनिन् । यो पटक जसरी पनि जित निकाल्ने प्रयासमा छन् ।

दुवै सुनसरीको साबिक भलुवा गाविसमा जन्मिएका हुन् । एउटै समुदायको प्रतिनिधित्व गर्छन् । तर राजनीतिक आस्था र चुनावी प्रतिस्पर्धाले पूर्वपश्चिम जस्तै । चुनावी प्रतिस्पर्धामा निरन्तर विजयी हुँदै आएका गच्छदारलाई सत्ता र शक्तिको आडमा जित्छन् भगवतीको आरोप छ ।

राजनीतिक हिसाबले गच्छदार सिनियर हुन् । ‘धाँधली गरेर चुनाव जितेको’ भन्दै चौधरीले हालेको मुद्दा सर्वोच्च अदालतमा अहिले पनि विचाराधीन छ । यसपटक जसरी पनि विजयी हुने चौधरीको दाउ छ ।

गच्छदारका लागि कार्यकर्ताहरूले २०७४को निर्वाचनलाई नै अन्तिम मानेका थिए । फेरि मैदानमा आउँदैनन् भन्ने थियो । तर, यो अनुमान फेल खायो । त्यसैले पनि विपक्षीसँगको भिडन्तभन्दा पनि आफ्नै कार्यकर्ता फकाउन गच्छदारले निकै मेहनत गर्नुपरेको छ । एक जना भित्रिया सहयोगी मानिएका प्रदीप चौधरी असन्तुष्ट हुँदै प्रदेशसभामा स्वतन्त्र उम्मेदवार बनेका छन् ।

नेपाली काँग्रेसको महाधिवेशनका बेला उनकै समूहबाट उम्मेदवार बनेका टेकचन्द्र विश्वास एमालेतिर लागेका छन् । पुराना कार्यकर्ता र नेताहरू पनि गच्छदारको भूमिकाप्रति असन्तुष्ट देखिन्छन् । खुलेर प्रचारमा देखिएका छैनन् ।

अर्कोतर्फ अहिले टिकट वितरणमा पक्षपात भएको नेता कार्यकर्ताको आरोप छ । गच्छदारसँग नजिक रहेर लामो समय राजनीति गरेका नेपाली काँग्रेसका पूर्वक्षेत्रीय सभापति हाजी अब्दुल मुस्लिमका अनुसार समुदायको मागसमेत सम्बोधन हुन सकेको छैन । एकै व्यक्तिलाई कहिलेसम्म मनोविज्ञान विकास भएको उनको भनाई छ ।

इटहरी, सोनापुर र दुहवी क्षेत्रमा बसोबास गर्ने मुस्लिम समुदाय उपेक्षामा पर्दै आएको उनले बताए । गच्छदारको लागि मुस्लिम मत नै सधैँभरि निर्णायक बन्ने गरेको छ ।

अर्कोतर्फ सनुसरी क्षेत्र न. ३ (क) गठबन्धनबाट माओवादीको भागमा परेको छ । यसले पनि गच्छदारलाई समस्या पर्ने देखिन्छ ।

त्यहाँ माओवादीकी सरस्वती पोखरेल उम्मेदवार छन् । क्षेत्रगत हिसाबले बढी मत भएको क क्षेत्रमा इटहरीबाट उम्मेदवार नदिएको भन्दै कार्यकर्ता रुष्ट छन् । चुनाव प्रचार प्रसार र घरदैलो गर्नुपर्ने बेलामा पनि कार्यकर्ता परिचालन गर्न समस्या भइरहेको नेताहरुले बताएका छन् ।

उनलाई कमजोर उम्मेदवार मानिएको छ । गच्छदारलाई युवाको साथ र समर्थन जुटाउनसमेत समस्या परेको अब्दुलले सुनाए ।

काठमाडौँको बालुवाटारस्थित ललिता निवासको जग्गा अपचलन मुद्दा गच्छदारको टाउको दुखाइ बनेको छ ।

२०७६ माघ २२ मा गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । त्यो विशेष अदालतमा विचाराधीन छ । अन्तिम फैसला भइनसकेकोले दोषमुक्त भइसकेका छैनन् ।

भगवती चौधरीले त्यसैलाई गच्छदारविरुद्धको चुनावी प्रचार बनाएकी छन् । विपक्षीको यो आरोपलाई चिर्नु गच्छदारका लागि ‘फलामको चिउरा चपाउनु’ जस्तै भएको छ । उनले भने आफू निर्दोष भएको दाबी गर्दै आएका छन् ।

यता भगवती तेस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी नेतृ हुन् ।

महिला सशक्तीकरणको मुद्दालाई उनले मुख्य चुनावी ‘एजेन्डा’ बनाएकी छन् । फरवार्ड वित्तीय संस्थामार्फत चौधरीले सामाजिक कामको अगुवाइ लिँदै आएकी छन् ।

विशेष गरी सीमान्तकृत समुदायलाई संस्थामार्फत चौधरीले आर्थिक उपार्जनको क्षेत्रमा समेटेकी छन् ।

गच्छदारले भने चौधरीले फरवार्ड वित्तीय संस्थामार्फत गरिब तथा सीमान्तकृत समुदायलाई लगानी गरेर चर्को ब्याज असुल्दै अकुत आर्जन गरेको आरोप लगाउने गरेका छन् ।

सुनसरी क्षेत्र नं. ३ मा इटहरी उपमहानगरपालिका ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ नम्बर वडा गरेर १० वटा वडा पर्छन् । गढी गाउँपालिका सबै वडा, दुहबी नगरपालिकाका सबै वडा, बर्जु गाउँपालिकाको सबै वडा र इनरुवा नगरपालिकाको वडा नं. ७ पर्छ । स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतका आधारमा एमाले पहिलो र नेपाली काँग्रेस दोस्रो अवस्थामा देखिन्छ ।

नेकपा एमालेले तयार पारेको आन्तरिक प्रतिवेदनमा पनि यो क्षेत्र सिङ्गो गठबन्धन हुँदा पनि एमालेले जित हासिल गर्ने क्षेत्रको रूपमा लिइएको छ ।

एमालेले पाँच दलीय गठबन्धन हुँदा पनि आफूहरूले ३८ वटा निर्वाचन क्षेत्रमा एक्लै प्रतिस्पर्धा गर्दा पनि विजय हासिल गर्न सकिने प्रतिवेदन तयार पारेको थियो ।

स्थानीय तहको निर्वाचनमा एमालेका वडाध्यक्ष उम्मेदवारले कुल ३५ हजार ५३ मत प्राप्त गरेका थिए । काँग्रेसका वडाध्यक्ष उम्मेदवारले ३३ हजार ५७१ मत ल्याएका थिए ।

जनता समाजवादी पार्टीका उम्मेदवारले ५ हजार ५१६ मत ल्याएका थिए । अहिले जसपा पनि एमालेसँगै गठबन्धनमा रहेको छ ।

माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ३ हजार ८२५, राप्रपाले ३ हजार ३३१, एकीकृत समाजवादीले ६२६ र स्वतन्त्र तथा अन्य साना दलका उम्मेदवारले ५ हजार ३२९ मत ल्याएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस