२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फेरिँदै राउटेको जीवनशैली, जोखिममा सभ्यता

अ+ अ-

सुर्खेत । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त असर राउटे समुदायले किस्ताकिस्तामा भोग्न थालेको छ ।दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिको रुपमा रहेका राउटे नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको दैलेख, सुर्खेत, दाङ, सल्यान, अछाम, कालीकोट, जाजरकोटलगायत जिल्लामा डुलिरहने जाति हो । दुई/तीन दशक पहिलेसम्म घना जङ्गलले भरिभराउ यो क्षेत्र राउटेका लागि सुरक्षित बासस्थान थियो । तर, पछिल्लो समय विकास, सहरीकरण तथा आधुनिकीकरणको बढ्दो प्रभावले अवस्था फेरिएको छ ।

विसं २०७८ को जनगणना अनुसार हाल यो समुदायमा कूल ४६ घरधुरी छन् भने जम्मा राउटेहरूको सङ्ख्या एक सय ४३ छ । बाँदरको सिकार तथा जङ्गली फलफूल सङ्कलन गर्दै जीवननिर्वाह गर्न कठिनाइ भएपछि राउटेहरूले काठका भाँडाकुँडा बनाएर स्थानीय मानिससँग अन्नसँग साट्न थालेको झण्डै एक शताब्दी भएको अनुमान छ ।कुनै दिन ‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे आजभोलि अन्नसँग सागम्री साट्नभन्दा पैसामा साट्न सजिलो मान्न थालेका छन् । उनीहरु आजभोलि चाहीँ तस्वीर खिचेकोसमेत पैसा माग्न थालेका छन् । बाँदरको सङ्ख्या घट्दै जानु, सामुदायिक वनमा रुख सजिलै काट्न नपाउनु तथा विभिन्न सङ्घ संस्थाको प्रभाव राउटे समुदायमा बढ्नाले राउटे विस्तारै परर्निभर बन्दै गएका छन् । सरकारले प्रदान गर्ने भत्ताको आस र अन्य व्यक्ति तथा संस्थाको सहयोगको अपेक्षा गर्ने परम्पराका रूपमा स्थापित हुँदै गएको छ ।

आफ्नो खुट्टाको साइज र जुत्ताचप्पलको साइजमा खासै सचेत भएको पाइँदैन । तथापि पछिल्लो पुस्ताले जुत्ता चप्पल लगाउन थालेको छ । औपचारिक शिक्षा लिएपछि राउटेलाई आफ्नो संस्कृति मासिने डर छ । विभिन्न गैरसरकारी संस्थाको बढ्दो प्रभावले राउटेहरूलाई स्थायी हुन बाध्य बनाइरहेको छ तर भ्रमणशील राउटे स्थायी रुपमा बस्न खोजिरहेका छैनन् ।‘किताब छोए ईश्वर रिसाउँछ’ भन्ने धारणामा विस्तारै परिर्वतन आइरहेको छ । अहिले राउटेले मोबाइल फोन प्रयोग गर्न थालेका छन् । खैनी र चुरोटका अम्मली राउटे समुदाय अचेल मदिरामोहमा फसेको छ । पाँच वर्षदेखि ८० वर्षसम्मका सबै राउटेले रक्सी पिउने गर्छन् । कमाएको तथा अरुबाट पाएको सहयोगलाई राउटेले मदिरा पिउनमा खर्च गरेको पाइन्छ । अत्यधिक रक्सी सेवनले राउटेको दिनचर्या नै सङ्कटमा फसेको देखिन्छ ।

बिरलै सरसफाइ गर्ने राउटेले खरानीपानीले लुगा धुने गर्थे । ढुङ्गाले शरीरको मैलो घोटेर फाल्थे । विगत भत्कियो, राउटेहरू आजभोलि साबुनको प्रयोग गर्न रुचाउँछन् । बसुलोले दारी काट्ने राउटे हिजोआज ब्लेडले काट्छन् । फुटेकै भए पनि ऐना हेर्ने बानीको विकास भएको देखिन्छ । विगतमा काठका भाँडाकुँडा अन्नसँग साटेर जीविका धान्न रुचाउने राउटेहरू अहिले पैसामै ती सामग्री साटफेर गर्न रुचाउँछन् । पैसालाई बोक्न सजिलो, आफूलाई चाहिने चीज किन्न सजिलो हुनाले राउटे अन्नभन्दा पैसालाई सजिलो माध्यम ठान्छन् । अरुको त्यसै मागेर नखाने जाति भनेर चिनिने राउटे आजभोलि सबैभन्दा धेरै माग्न आउँछ । झारफुक तथा जडीबुटीमा विश्वास गर्ने राउटे आजभोलि डाक्टरको विश्वास गर्छन् । राउटे काम विशेष कतै जानुपर्यो भने गाडी चढ्न रुचाउँछन् । आफ्नै श्रममा बाँच्ने राउटेलाई आजभोलि कहिल्यै नपुग्ने चीज भत्ता भएको छ । सरकारले प्रत्येक वर्ष राउटेलाई सामाजिक सुरक्षा भत्ता दिन्छ तर भत्ता कम भएको गुनासो राउटेहरू पोखिरहन्छन् ।


यो भने गाडी चढ्न रुचाउँछन् । आफ्नै श्रममा बाँच्ने राउटेलाई आजभोलि कहिल्यै नपुग्ने चीज भत्ता भएको छ । सरकारले प्रत्येक वर्ष राउटेलाई सामाजिक सुरक्षा भत्ता दिन्छ तर भत्ता कम भएको गुनासो राउटेहरू पोखिरहन्छन् ।

लोपोन्मुख राउटे समुदायको महाशत्रु हुन्, स्थायी बसोबास, लेखपढ र खेतीपाती । आफूलाई वनको राजा भन्न रुचाउने र जङ्गलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेको राउटे समुदाय नेपालको नागरिकता नलिए पनि नेपाली नागरिक हौँ भनेर गौरव गर्छ । राउटे बस्ती पुग्ने जोकोहीसँग राउटे बालबालिका र महिला पैसा माग्छन् । घरायसी प्रयोगका सामग्री कोसी, मदुस, पिर्का, बाकस बनाएर बेच्ने पेसा गर्दै आएका राउटे समुदाय परम्परागत पेसालाई सर्वोपरी ठान्ने राउटे समुदायको ‘संस्कृति र जीवनशैली’ फेरिँदै गएको छ ।

कल्याल, रास्कोटी र राजवंशी ठकुरी राउटे समुदाय आफ्नो परम्परागत पेसा र जीवनशैलीबाट विस्थापित बन्दै परनिर्भरतातिर गइरहेको छ । आफ्नो परम्परामा कडा देखिए पनि आधुनिकतासँगै राउटे समुदाय पनि आधुनिकतामा रमाउन थालेको छ । राउटेको दैनिक व्यवहार, रहनसहन र कला संस्कृति परिवर्तन हुँदै गइरहेको छ । विगतमा पशुपालन गर्दा राम्रो नहुने भन्दै तिरस्कार गर्ने राउटे समुदाय वनजङ्गल विनाशका कारण गुना र बाँदर पाइन छाडेपछि पछिल्लो समयमा बाख्रा र कुखुरा पाल्ने थालेका छन् । राउटे पहिलेको तुलनामा रुपैयाँ, पैसा र आधुनिक सामग्रीमा बढी प्रभावित हुन थालेका छन् ।

‘हाम्रो मुख्य सिकार बाँदर र गुना जङ्गलमा पाइनै छाडे, चाडपर्वमा मासु खानुपर्छ, त्यसैले बाख्रा र कुखुरा किनेर पाल्ने गर्छौ,’ राउटे मुखिया सूर्यनारायण शाहीले भने। स्थायी रुपमा बस्न नचाहने, वनजङ्गलमा घुमन्ते जीवन बिताउँदै आफ्नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा आधुनिकतातर्फ मोडिएको छ । राउटे समुदायको युवापुस्ता पनि आधुनिक संस्कृतिबाट प्रभावित हुन थालेको छ । पहिले नयाँ व्यक्ति देख्दा डराउने र बोल्न नचाहने, तस्बीर खिच्न नदिने राउटे जाति महिलालाईसँगै नहिंँडाउने र मुखियाले भनेका सबै कुरा पालना गर्ने गर्थे तर पछिल्लो समय धेरै परिवर्तन भएको छ । उनीहरु अहिले खुलेरै आफ्ना समस्या राख्ने गर्छन्, महिलालाई सँगसँगै हिँडाउँछन् । केही समय अगाडि राउटे समुदायमा फोनमा कुरा गर्नु राम्रो मानिँदैनथ्यो, तर पछिल्लो समय यस समुदायका पाका उमेरका व्यक्तिले हातहातमा मोबाइल बोकेको देखिन्छ ।

राउटे समुदायका व्यक्तिलाई नागरिक बनाउन गुराँस गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रअनुसार २०७५ असार ३० गतेदेखि स्थायी ठेगाना भएको परिचयपत्र प्रदान गर्दै आएको छ । राउटेका पूर्वमुखिया महिनबहादुर शाहीका अनुसार कसैलाई फोटो खिच्न नदिने, सित्तैँमा अरूले दिएको खाने कुरा नखाने, बस्तीमा नचिनेको मान्छेलाई प्रवेश गर्नमा रोक लगाउने संस्कृति राउटे समुदायबाट हराइसकेको छ ।

उनीहरु आफ्नो दैनिक जीवनलाई आधुनिक संस्कृतिअनुसार परिवर्तन गरिरहेका छन् । राउटे समुदायलाई सहयोग गर्न भित्रिएका गैरसकारी संस्थाले नै परनिर्भरतातिर धकेलेको स्थानीयवासीको आरोप छ । गैरसरकारी संस्थाका प्रतिनिधिले राउटेसँग हेलमेल बढाउन मद्यपान र धूमपानको लतमा पुर्याएको आरोप लाग्ने गरेको छ । आजभोलि रक्सी नभइ नहुने अवस्थामा पुग्न लागेको राउटे समुदायका युवा वीरबहादुर शाहीले बताए ।

शाहीले भने, ‘खसी र चामल पाएमा हुरुक्क हुने र अरूले दिएको खानेकुरालाई उपहार ठान्ने यो समुदाय पछिल्लो पटक मद्यपान, धूमपानको कुलतमा फस्न थालेको छ । सुरुमा रमाइलो लागेर गाउँलेले दिएको रक्सी पियौँ । रक्सी त रमाइलो गर्न खाने हो । नयाँ मान्छे आउँछन्, रक्सी खुवाइ दिन्छन्, आजभोलि पिउने बानी नै परिसकेको छ ।’ अहिले मद्यपान र धूमपानका कारण राउटेको परम्परा ओझेलमा पर्दै गएको महिनबहादुर शाहीको दुःखेसो छ । ‘हामी गाउँका अन्य मानिसजस्तो रक्सी खाएर झगडा गर्दैनौँ, रक्सी पनि बनाउँदैनौँ । बरु कसैले ल्याइदिएको र गाउँबाट नै किनेर खान्छौँ,’ महिनबहादुरले भने, ‘रक्सी सेवन गरी झगडा गर्ने व्यक्तिलाई राउटे समुदायका अन्य युवा मिली हातखुट्टा डोरीले बाँधेर लडाइदिने चलन छ ।’ उनका अनुसार जङ्गलमा बाँदर सिकार गर्ने राउटे समुदायले अन्नको जाँड बनाउने गर्दछन् । उनीहरूमा रक्सी पार्ने सीप छैन ।

रक्सी पार्ने काम गरेमा देवीदेवता रिसाएर सिकार बिग्रिने, मानिस बिरामी पर्नेजस्ता विश्वास राख्ने उनीहरूमा छ । यद्यपि उनीहरूका यस्ता मान्यता विस्तारै भत्कँदै छन् । विस्तारै उनीहरूमा खुला समाजको प्रभाव पर्दै गएको छ । बजार नजिकै बसेर बजारको संस्कृति र प्रभावमा रमाउन थालेका छन् । यद्यपि उनीहरू पहिला पहिला मानव बस्तीभन्दा टाढा जङ्गल या नदी किनारमा बस्ने गर्दथे ।

मुखिया सूर्यनारायण शाहीका अनुसार नेपाल सरकारले लोपोन्मुख जातिलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता पाउनासाथ राउटेले मदिरा पिउन थालेका हुन् । आजकालका तन्नेरी जति भने पनि मान्दैनन् । पैसा पाउनासाथ रक्सी खोजी गर्छन् । पिउन गइहाल्छन् । लोपुन्मुख जाति र कर्णाली प्रदेशको गहनाका रूपमा चिनिने यो समुदायका महिला पनि आधुनिकतासँगै सहरका होटलमा खाना खान रुचाउँछन् । राउटेले बोल्ने खाम्ची भाषा, संस्कृति, जीविकोपार्जन गर्न सीप हराउँदै जानु, बर्सेनि जनसंख्या घट्दो क्रममा रहनु, मृत्युदर उच्च तथा कुपोषणको समस्या राउटे समुदायमा अधिक रहेको पाइन्छ । बाह्य समुदायबाट हिंसा तथा यौन हिंसाको चपेटामा पर्नु, सामाजिक सुरक्षा भत्ताको दुरुपयोग बढ्नु, दाताले मनलाग्दी आफूखुसी राहत सामग्री वितरण गर्नुजस्ता कारण राउटे समुदायको सुरक्षामा चुनौती थपिएको सम्पद्धहरुको बुझाइ रहेको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा राउटेलगायत लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि आयआर्जन कार्यक्रम (राहत तथा पुनःस्थापना, क्षतिपूर्ति)का लागि चार करोड रुपैयाँ विनियोजन गरेको सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिइन् । ज्ञवालीका अनुसार राउटे नीतिमाथि विज्ञको राय सङ्कलनको कार्य भइरहेको छ । फिरन्ते जाति राउटे समुदायको उत्थानका लागि सरकारले हदैसम्म प्रयास गरिरहेको छ । दैलेखको गुराँस गाउँपालिकाले राउटेलाई मासिक दुई हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । दक्षिण एसियाका अन्तिम घुमन्ते जाति राउटे नेपाल र नेपालीका लागि खजाना भए पनि बढ्दो आधुनिकीकरणले राउटेको जीवन, दर्शन, संस्कृति र सभ्यता डुब्नै लागेको घामजस्तै भइसकेको छ ।

औषधोपचारमा विश्वास

बिरामी भएमा, चोटपटक लागेमा वा शरीरमा घाउ भएमा जडीबुटीको प्रयोग गर्ने राउटे अहिले स्वास्थ्यकर्मीबाट उपचार गर्न थालेका छन् । राउटेहरु चोट लागे खोटो टाँस्ने गर्थे, टाउको दुखे झारपात खान्थे, घस्नुपर्दा खरानी घस्थे । झारफुक गर्थे । बिरामी परेमा स्वास्थ्योपचार भन्दा पनि उनीहरु धामी, झाँक्री बसालेर ग्रह काट्ने, भूतको भाग फाल्ने गर्छन् । राउटे समुदाय स्वास्थ्य संस्थासम्म नपुगे पनि अहिले औषधोपचारमा विश्वास गर्न थालेका छन् ।

उनीहरुले सानातिना घाउ-चोटपटक लाग्दा पनि औषधोपचार गर्ने र मल्हमपट्टी लगाउने र त्यसका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको छन् । राउटे जाति अहिले खुट्टाको सुरक्षाका लागि जुत्ता चप्पल लगाउन थालेको छ । सरसफाइमा पनि उत्तिकै ध्यान दिन थालेका छन् । उनीहरु पछिल्लो समय साबुनको प्रयोग गरेर नुहाउने, दाह्रीजुँगा काट्ने र आफू बसेका स्थानमा बनाइएका छाप्रो वरिपरि सरसफाइ गर्छन् । आफैँले उत्पादन गर्ने कपडाको मात्रै प्रयोग गर्ने राउटेहरु आजभोलि बजारमा पाइने आधुनिक कपडाको प्रयोगतर्फ आकर्षित हुन थालेका छन् । राउटे युवा प्रकाश शाहीले भने, ‘हामीले कोट पनि राखेका छौँ, अब विस्तारै कोट पनि लगाउँछौंँ ।’ राउटे युवतीहरुले पनि पछिल्लो समय चुरापोतेलगायत शृङ्गार सामग्री प्रयोग गर्न थालेका छन् । राउटेले बनाएका कोसी, मधुश, आरी र खाटजस्ता सामग्री बिक्री हुन छाडेपछि राउटेलाई गाउँ–गाउँ डुल्नुपर्ने बाध्यता पनि छैन ।

एकै ठाउँमा बस्दैनन् राउटे

फिरन्ते जीवन बिताउने राउटेहरु एक ठाउँ धेरै नबस्नुमा बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यस ठाउँ छाड्नुपर्ने राउटेको चलन छ । कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबै जना रुँदै कराउँदै अर्को बासको खोजीमा हिँड्ने संस्कारले गर्दा एकै ठाउँमा नबस्ने राउटेका मुखिया सूर्यनारायण शाहीले बताए । उनले भने’हाम्रो समुदायको व्यक्ति मरेको स्थान हाम्रा लागि सधैंँ अशुभ हुन्छ, तयो ठाउँमा हामी कहिल्यै फर्किँदैनौँ ।’राउटे समुदायमा कसैको मृत्यु हुनेबित्तिकै त्यस ठाउँलाई सधैँका लागि अशुभ ठानेर नयाँ ठाउँको खोजीमा हिँड्ने गरेको उनको भनाइ छ ।

‘नयाँ ठाउँमा पुगेर मृत्युको पीडालाई भुल्ने र त्यसपछि विस्तारै मृत्युको कुरा बिर्सन्छौँ,’ सूर्यनारायण भन्छन्,’हामी बसाई सर्दा उपयुक्त ठाउँको छनोट गर्दैनौं । हिँड्दै जाँदा जहाँनेर रात पर्छ, त्यसैलाई उपयुक्त बासस्थान ठानेर त्यही बस्छौं ।’ राउटे मुखियाको पुस्ता रहँदासम्म राउटे स्थायी बसोबास गर्ने स्थिति देखिँदैन ।