काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
सप्तरीको समग्र विकासका लागि आफूले उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ। यसपटक पनि सप्तरीका जनताले आफूलाई निर्वाचित गराउने विश्वास उनको छ।
उपेन्द्रले निर्वाचित हुने विश्वास प्रकट गरे पनि अङ्क गणितले भने उनलाई कठिन हुने देखिन्छ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा सप्तरी २ मा सत्ता गठबन्धन १२ हजार बढी मतले अघि छ।
सत्ता गठबन्धन छोडेर एमालेसँग तालमेल गरेको जसपाले प्रतिनिधिसभामा १७ सिट पाएको छ।
जसपाले सत्ता गठबन्धन छोडेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनमा गएको छ।
सत्ता गठबन्धनले सप्तरी २ लोकतान्त्रिक समाजवादी पार्टीलाई छोडेको छ। त्यहाँ लोसपाका जयप्रकाश ठाकुरलेनै उम्मेदवारी दिएका छन्।
२०७४ को चुनावमा यादव २१ हजार ६२० मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले ११ हजार ५८० मत ल्याएका थिए।
राष्ट्रिय जनता पार्टीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले भने ९ हजार ४५८ मत ल्याएका थिए। त्यसबेला तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बिच चुनावी गठबन्धन भएको थियो।
नेपाली काँग्रेसले आफ्ना उम्मेदवार सकलदेव सुतिहारलाई पछि हटाएर यादवलाई नै समर्थन गरेको थियो।
२०७४ मा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाटै विजयी भएका अध्यक्ष यादवलाई यसपालि गठबन्धन फेरेसँगै कठिन देखिएको छ। सुरक्षित क्षेत्रको खोजी गरेका यादव मधेस प्रदेशका विभिन्न जिल्लाका ८ क्षेत्रबाट सिफारिस भएका थिए।
गत वैशाखमा स्थानीय तह निर्वाचनमा सप्तरी २ का स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मतका आधारमा सत्ता गठबन्धन निकै अघि छ।
जसपाका वडाध्यक्षले स्थानीय तह निर्वाचनमा १४ हजार ४ सय ३ मत प्राप्त गरेका थिए। एमालेका वडाध्यक्षका उम्मेदवारहरूले ५ हजार ९ सय ५१ मत प्राप्त गरेका थिए। दुई दलको मत जोड्दा २० हजार ३ सय ५४ मत पुग्छ।
यता जसपा र एमालेको मतभन्दा सत्ता गठबन्धनको मत १२ हजार भन्दा बढी रहेको छ।
स्थानीय तहको निर्वाचनमा लोसपाका वडाध्यक्षका उम्मेदवाले १० हजार ४ सय ३५ र काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले १० हजार ८ सय ७ मत प्राप्त गरेका थिए।
यस्तै माओवादी केन्द्रबाट वडाध्यक्षमा उम्मेदवारी दिएकाहरूले ९ हजार ५ सय ३४ र एकीकृत समाजवादीका उम्मेदवारहरूले २४ सय ८ मत प्राप्त गरेका थिए।
सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारहरूको मत ३३ हजार १ सय ८४ छ।
२०६४ मा भएको पहिलो संविधान सभाको निर्वाचनमा यादवले दुई स्थानबाट चुनाव जितेका थिए। पहिलो संविधान सभामा मोरङ-५ र सुनसरी-५ बाट उनी विजयी भएका थिए।
दोस्रो संविधान सभाको निर्वाचनमा पनि उनी तिनै दुई स्थानबाट चुनावमा उठेका थिए तर मोरङमा पराजित भएका उनी सुनसरीमा विजयी भएका थिए।