काठमाडौँ । कैलालीको धनगढीमा अनशनरत डा.गोविन्द केसी काठमाडौँ आउने तयारीमा रहेको बताइएको छ ।
सरकारले मंगलबार डा.केसीलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौँ ल्याउने भनिए पनि उनले अस्वीकार गरेका थिए । मंगलबार डाक्टर केसीले आफूलाई ‘अपहरण शैलीमा नलैजान’ आग्रह गरेका थिए ।
आज भने उनी आफैँ काठमाडौं आउन तयार रहेको उनका सहयोगी डा.अमित जैशीले बताए । उनी उपचारका लागि काठमाडौँ आउन सहमत भएका हुन् ।
सेती प्रादेशिक अस्पतालका डेन्टल अधिकृत समेत रहेका उनका सहयोगी डा.जैसीका अनुसार डा.केसीलाई उपचारका लागि काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिनेछ ।
डा.केसी गेटा विमानस्थलबाट बुधबार अपराह्न श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौँ जाने तयारीमा रहेको जैशीले बताए ।
चिकित्सा क्षेत्रको सुधारसहित सातबुँदे माग राखेर डा. केसी १० दिनदेखि धनगढीमा आमरण अनशनमा बसेका छन् । सेती प्रादेशिक अस्पतालमै अनशनमा बसेका उनको स्वास्थ्य अवस्था कमजोर बनेको चिकित्सकले बताएका छन् ।